भेरी अस्पताल नेपालगन्जले मनायो १३५ औं वर्ष
Tuesday, July 29th, 2025, 7:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ साउन
भेरी अस्पताल नेपालगन्जले १३५ औं वर्ष उत्सव भब्य रुपमा मनाएको छ । सन् १९४७ साउन १२ गते अस्पताल स्थापना भएको थियो । सोमबार एक औपचारिक कार्यक्रम गरेर वार्षिक उत्सव भब्यरुपमा मनाएको हो । पश्चिम नेपालको रेफरल केन्द्रका रुपमा रहेको भेरी विसं १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको थियो ।
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो । वर्ष उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगन्ज स्वास्थ्यको हबको रुपमा रहेको बताउनुभयो ।
उहाँले भेरीको इतिहास पुरानो भएपनि यसको विकास जुन रुपमा हुनुपर्ने हो, त्यसरी हुन नसकेको बताउनुभयो । उहाँले एतिहासिक वर्ष पुरा गरेकामा बधाई पनि दिनुभएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेशका सांसद माया पुन, मिना सिद्दिकी, अस्पतालका विभिन्न विभागका प्रमुख, कर्मचारीहरु, सेवा निवृत्त मेसुहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
समितिका अध्यक्ष शाहले आमजनताको अस्पतालप्रति बढ्दै गएको विश्वासलाई निरन्तरता दिन अस्पताल विकास समिति र प्रशासन लागिपरेको बताउनुभयो । “अस्पतालमा दैनिक आउने बिरामीको सेवा सुविधासँगै बिरामीको उपचारका लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तारको पहल भइरहेको छ ।” अध्यक्ष शाहले भन्नुभयो । अस्पताल आउने बिरामीको संख्या दिनप्रतिदन बढ्दो क्रममा रहेको छ ।
सोही अवसरमा सेवा निवृत्त भएका अस्पतालका पूर्व मेसुहरु डा. मोहिउद्दिन किदवाई, डा. श्याम सुन्दर यादव, डा. बिनोद खेतान, डा. पिताम्बर सुवेदी, डा. रुपानन्द अधिकारी र डा. बीरेन्द्रबहादुर चन्दलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सांसद राठौंर, अस्पताल विकास समितिका अध्यक्ष शाह लगायतले सम्मान गर्नुभएको थियो ।
यस्तै अस्पतालमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी, विभिन्न विधामा उत्कृष्ट भएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको कार्यप्रगति तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

……….
कार्यक्रममा अस्पतालका कर्मचारीहरुले नृत्य, गीत तथा आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । सोही समारोहमा भेरी अस्पतालले वार्षिक रुपमा प्रकाशन गर्दै आएको स्मारिका विमोचन पनि गरिएको थियो । अस्पतालका प्रमुख नर्सिङ प्रशासक आशा पन्तले स्वागत गरेको उक्त कार्यक्रमलाई समितिका सदस्य डा. डक्टप्रसाद धितालले सञ्चालन गर्नुभएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा दुई लाख छ हजार ६९० जना बिरामीले बहिरङ्ग उपचार सेवा प्राप्त गरेका छन् । आव २०८०÷८१ मा एक लाख ६२ हजार ७९८ जनाले बहिरङ्ग उपचार सेवा प्राप्त गरेकोमा गत वर्ष सेवाग्राहीको संख्या अधिक भएको हो । अस्पतालमा बहिरङ्ग सेवाका लागि आउने बिरामीले चिकित्सकको परीक्षणपछि अस्पतालबाट विभिन्न सेवा लिने गरेका छन् ।
अस्पतालको तथ्याङ्क अनुसार भेरीले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरोलगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रियासमेत यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष शाहले भेरीमा बढ्दो बिरामीको चापलाई हेरेर थप भौतिक पूर्वाधारसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सात शैयाबाट सुरु भएको यो अस्पताललाई पाँच सय शय्याको बनाउने योजनासहित कामलाई अघि बढाइएको अस्पतालले दाबी गरेको छ ।