लुम्बिनी प्राविधिक विश्वविद्यालयले दुई दिने एआई ह्याकाथन गर्दै
Tuesday, July 29th, 2025, 9:21 pm
Kalpristha
कालपृष्ठ समाचारदता
नेपालगन्ज, १३ साउन
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यही हप्ता दुई दिने एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम सञ्चालन गर्ने भएको छ । “थिङ्क, बिल्ड, एन्ड स्केल” भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम यही शुक्रबार र शनिबार विश्वविद्यालय परिसरमा आयोजना गर्न लागेको जनाएको छ ।
कार्यशाला तथा ह्याकाथन सिंगापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एआई कम्पनी म्यानस एआई र नेपालमा एआई प्रवद्र्धन गर्दै आएको प्लेटफर्म एनोभेटर्सको सहकार्यमा आयोजना गर्न लागिएको विश्व विद्यालयका रजिष्ट्रार (कुल सचिव) रेगबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुािर काठमाडौँबाट आएका अनुभवी प्रशिक्षकहरूले सहभागी विद्यार्थीहरूलाई एआईका विभिन्न प्रयोग र सम्भावनाबारे व्यावहारिक जानकारी दिने छन् ।

………………….
हाल अधिकांश प्रयोगकर्ताहरूले एआई भन्ने बित्तिकै च्याट जीपीटी बुझ्ने र सामान्यतया लेखन वा रिसर्चका लागि मात्रै एआईको प्रयोग गर्ने गरेको पाइन्छ । यस कार्यशालामा सहभागीहरूले कोडिङ्ग अनुभव नभए पनि, प्रोग्रामिङ्ग बिना ’प्रम्प्ट’ मार्फत सफ्टवेयर तथा एप बनाउने व्यावहारिक सीप प्राप्त गर्ने कुल सचिव भण्डारीले बताउनुभयो ।
‘ह्याकाथनमा सहभागीहरूले एजेन्टिक एआईबारे सिकेर छोटो समयमै आफ्ना आइडियाहरूलाई एआईको मद्दतले एपमा परिणत गर्न सक्ने छन् ।,’ कुल सचिव भण्डारीले भन्नुभयो, ‘ यसले यसअघि कहिल्यै कम्प्युटरमा कोड नलेखेका व्यक्तिहरूले पनि म्यानस एआईमार्फत एप निर्माण गर्ने, वेबसाईट बनाउने जस्ता काम गर्न सक्ने छन् ।’ म्यानस एआईले कार्यक्रम अवधिभर सम्पूर्ण सहभागीहरूलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने ‘प्रो एकाउन्ट’ निःशुल्क उपलब्ध गराउनेछ । जसले वेबसाइट तथा एप्स निर्माण कार्य थप सहज बनाउनेछ ।
विशेष गरी लुम्बिनी प्रदेशमा रहेका विविध समस्या पहिचान गरी, एआईको प्रयोगमार्फत उक्त समस्या समाधान गर्ने प्रकृतिका एप निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको विश्वविद्यालयले जनाएको छ । यस प्रकारको कार्यक्रमहरूले विद्यार्थीहरूलाई एआई युगका लागि तयार पार्न सहयोग पुग्ने विश्वविद्यालयको विश्वास छ । विश्व विद्यालयले यसअघि पनि स्नातक तहमा बिटेक इन आईटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङको पढाई सञ्चालनमा ल्याएको थियो ।
विश्वविद्यालयले हालै मात्र इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्र्तगत स्नातक तहमा बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी इन्जिनियरिङ, बिटेक इन सिएस एण्ड एआई र बिटेक इन आईटी कार्यक्रममा नयाँ भर्ना सुरु गरेको छ । स्वदेशमै गुणस्तरिय प्राविधिक शिक्षा हासिल गर्न पाइने भएकाले लुम्बिनी प्राविधिक विश्व विद्यालयप्रति बिद्यार्थीको आर्कषण बढ्दै गएको छ ।