नेपालगन्ज हेल्थ क्याम्पस : तीन करोडबढीको छात्रवृत्ति प्रदान
Wednesday, August 20th, 2025, 12:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ भदौ
गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाका रुपमा आफुलाई चिनाउन सफल नेपालगन्ज हेल्थ क्याम्पसले तीन करोडबढी रुपैयाँको छात्रवृृत्ति प्रदान गरेको छ । क्याम्पस स्थापना भएदेखि हालसम्म क्याम्पसले सामाजिक उत्तरदायित्व बोध गर्दै तीन करोड ७८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको क्याम्पसका अध्यक्ष मैकुलाल बाल्मिकीले बताउनुभयो ।
‘पश्चिम नेपालमा दुई दशकदेखि प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय शिक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ अध्यक्ष बाल्मिकीले भन्नुभयो, ‘प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीलाई हामीले छात्रवृत्ति प्रदान गरेका हौं ।’ नेपालगन्ज पढन आउने विद्यार्थीहरुलाई सहज हुनुका साथै प्राविधिक शिक्षा अध्ययन गर्न चाहेका तर आर्थिक रुपले सक्षम नभएकालाई छात्रवृत्तिले ठुलो राहत मिलेको आफुहरुको विश्वास रहेको अध्यक्ष बाल्मिकीको भनाई छ ।
प्राविधिक शिक्षा स्वास्थ्य शिक्षाको प्रचार प्रसार र गुणस्तरमा सुधार ल्याउन क्याम्पसको स्थापना गरिएको अध्यक्ष बाल्मिकीले बताउनुभयो । क्याम्पसले हालसम्म १०४ जना विद्यार्थीलाई यो रकम बराबरको छात्रवृृत्ति प्रदान गरेको जनाएको छ । छात्रवृत्ति प्रदान गरिएकामध्ये सबैभन्दा बढी मेडिकल ल्याब टेक्नोलोजीतर्फका विद्यार्थीले पाएको क्याम्पसका प्रिन्सिपल प्रभाकार मिश्राले जानकारी दिनुभयो । ‘क्याम्पसले सबै फ्याक्टीका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ,’ प्रिन्सीपल मिश्राले भन्नुभयो, ‘तर सबैभन्दा बढी मेडिकल ल्याब टेक्नोलोजी अध्ययन गर्ने विद्यार्थीहरुले पाएका छन् ।’
उहाँका अनुसार मेडिकल ल्याब टेक्नोलोजीतर्फ जम्मा ५४ जना, डिप्लोमा इन फार्मेसीतर्फ ४४ जना, एच ए–आयुर्वेदतर्फ ६ जनालाई प्रदान गरिएको छ । क्याम्पसले समावेशीरुपमा छात्रवृत्ति प्रदान गरेको देखिएको छ । जस अन्तर्गत ल्याब टेक्नोलोजीतर्फ छात्रवृत्ति पाउने ५४ जनामा ३० महिला रहेका छन् भने त्यसमा ५ जना मधेसी समुदायका, ७ जना दलित समुदाय, ८ जना मुस्लिम समुदाय, ५ जना जनजाति र ५ जना थारु समुदायका विद्यार्थी छन् । यस्तै ल्याब टेक्नोलोजीतर्फ नै छात्रवृत्ति पाएका २४ जना पुरुषमध्ये ५ जना मधेसी, ७ दलित, ३ मुस्लिम, ६ जनजाति र ३ जना थारु समुदायका विद्यार्थी रहेको प्रिन्सिपल मिश्राले बताउनुभयो ।
ल्याब टेक्नोलोजीतर्फ मात्रै क्याम्पसले २ करोड ३ लाख छात्रवृत्ति प्रदान गरेको छ । डिप्लोमा इन फार्मेसीतर्फ ४४ जनालाई १ करोड ५० लाख र २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । यसमा रहेका २३ जना महिलाहरुमा ७ जना, ४ दलित, ६ मधेशी र ६ जना जनजाति समुदायका छन् भने २१ जना पुरुषहरुमा ५ थारु, ४ दलित, ६ मधेसी, ६ जना जनजाति समुदायको रहेको मिश्राले बताउनुभयो । यसैगरी एच ए–आयुर्वेदतर्फ छात्रवृत्ति प्रदान गरिएका जम्मा ६ जनामा ४ महिला र २ पुरुष रहेका छन् । प्रिन्सिपल मिश्राका अनुसार यसमा ४ जनामध्ये २ थारु, १ मधेसी र १ दलित तथा २ पुरुषहरुमा २ जना थारु समुदायका विद्यार्थी छन् ।
क्याम्पसले स्थापनाकालदेखि नै देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको जनाएको छ । क्याम्पसमा डिप्लोमा इन फार्मेसी (३ वर्षे), मेडिकल ल्याब टेक्नोलोजी (३ वर्षे), एच ए–आयुर्वेद (३ वर्षे) र केयर गिभर (३ महिने) अध्यापन हुने गरेको छ । गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्नका लागि क्याम्पसमा सुविधा सम्पन्न आधुनिक कक्षा कोठाहरु निर्माण, उत्कृष्ट आधुनिक प्रयोगशाला, मल्टिमिडियाको प्रयोग, स्मार्ट बोर्ड प्राजेक्टरबाट अध्ययापन गराउँदै आएको छ भने अत्याधुनिक पुस्तकालय, नियमित अतिरिक्त क्रियाकलाप, मनोरञ्जन, सांस्कृतिक कार्यक्रमको आयोजना, खेलकुद, अनुभवी र प्राविधि मैत्री शिक्षक, विधार्थीमैत्री शैक्षिक वातावरण निर्माण गरेको छ ।
क्याम्पसका प्रिन्सिपल मिश्राले रोजगारीका लागि उचित सल्लाह सुझाव प्रदान गरिनुका साथै व्यवस्थापन गर्ने कार्य गरिएको बताउनुभयो । मिश्राका अनुसार यसै संस्था अन्तर्गत नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसमार्फत पनि गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्दै आएको छ । सो क्याम्पसमा बिबिए (४ वर्षे), बिसिए (४ वर्षे,) र बिए एलएल बी (५ वर्षे) संकायमार्फत अध्यापन हुँदै आएको प्रिन्सिपल मिश्राले बताउनुभयो ।
तीन वटै संकायमा हाल भर्ना कार्यक्रम चलिरहेको पनि उहाँले बताउनुभयो । यसका साथै प्लस टु पास गरेका विद्यार्थीलाई बिबिए र बिसिए संकायमा आकर्षक छात्रवृत्तिसमेत प्रदान गरिने प्रिन्सिपल मिश्राले जानकारी दिनुभयो । अध्यक्ष बाल्मिकीका अनुसार संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप नेपालगन्जमा पारामेडिकल कलेज संचालन गर्ने योजना बनाएको छ । यस कलेजमार्फत बिपिएच, बिएस सी र एम एल टी संकाय संचालन गर्ने तयारी गरेको छ ।