सार्वजनिक सम्पत्ति नष्ट गर्नेलाई खोज्न सुरु
Tuesday, September 16th, 2025, 6:39 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भदौ
जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ । आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुको खोजी भैरहेको बेला बाँके प्रहरीले पनि सक्रियता बढाएको छ ।
आन्दोलनका क्रममा कार्यालय तथा सार्वजनिक सम्पत्तिको लुपाट, तोडफोडसँगै आगजनी गरी नष्ट गरिएको छ । जसले गर्दा कार्यालयका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आन्दोलनको फाइदा उठाउँदैं केहिले भौतिक सम्पत्ति समेत लुटेर समेत लगेका थिए । जसको अहिले खोजी कार्य थालिएको छ ।
बाँके जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयहरुमा लुटपाट, तोडफोड तथा आगजनी गरिएको छ । अवस्था सामान्य बन्दै गएपछि हाल ती कार्यालयहरु संचालनको तयारी गरिएको छ ।
सार्वजनिक कार्यालयका धेरै जसो सामान लुटेर लगिएकाले कार्यालय संचालनमा बाधा पु¥याएको छ । लुटेर लगिएको त्यस्ता सम्पत्तिको कार्यालयहरु खोज्न थालेका छन् । लुट्ने बहानामा वा जोगाउन भनेर घर लगिएका राज्यको सम्पत्ति आफै स्वस्फुर्त रुपमा फिर्ता गरिदिनको लागि कार्यालयहरुले सार्वजनिक आह्वान समेत गरिसकेका छन् ।

…………
लगिएका सामानहरु फिर्ता नगरिए नियमअनुसार कारवाही हुने प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आन्दोलनका क्रममा सम्पत्ति लग्नेहरुको पहिचान सामाजिक संजालमा राखिएको भिडियो फुटेज तथा नागरिकहरुसँग भएको भिडियोका आधारमा खोजी गरी कारवाही प्रक्रिया अघि बढाइने कार्यालयहरुको भनाई छ ।
यस्तै बाँके प्रशासनले सार्वजनिक सम्पत्तिको क्षतिगर्नेहरुलाई खोज्ने प्रक्रिया अघि बढाएको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी दिनमा यस्तो अवस्था फेरि दोहरिन नदिनको लागि सम्पत्ति नष्ट गर्न विध्वंशात्मक कार्यमा संलग्न व्यक्ति, समूहको खोजी प्रक्रिया सुरु गरिएको जनाएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले प्रदर्शनको क्रममा सरकारी कार्यालयहरुको सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई खोज्न सुरु गरिएको बताउनुभयो । त्यसको लागि पहिलो चरणमा त्यस्तो क्षति गर्नेहरुको भिडियो फुटेजहरु भएउपलब्ध गराउन माग गरिएको पनि बताउनु भयो ।
प्रशासनले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ । ‘भदौ २४ गते प्रदर्शनको क्रममा केही उच्छृंखलव्यक्ति समूहबाट जिल्ला स्थित दर्जनौं सरकारी कार्यालयको महत्वपूर्ण अभिलेख, कार्यालय सामग्री सरकारी गाडी, कार्यालय भवन समेतमा आगजनी, तोडफोड गर्नुका साथै सरकारी, सार्वजनिक सम्पत्ति र केही व्यक्तिहरूको निजी सम्पत्तिमा समेत अकल्पनीय क्षति पुगेको छ ।
सरकारी, सार्वजनिक सम्पनि र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत गर्ने व्यक्ति समूहलाई समयमै पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएमा समाजमा दण्डहिनता र कानूनविहीनताको अवस्था सृजना हुन सक्ने जोखिम उत्पन्न हुने छ ।’
अपिलमा भविष्यमा समेत यस प्रकृतिका विध्वंशात्मक र गैरकानूनी गतिविधि हुन सक्ने जोखिम र चुनौतीलाई मध्यनजर गरी २४ गतेको विध्वंशात्मक कार्यमा संलग्नव्यक्ति समूहको पहिचान गरी यथाशिघ्र कानूनी कारबाहीको दायरामा ल्याउन अति आवश्यक देखिएकाले सो सम्बन्धमा आफुसँग कुनै जानकारी सूचना तथ्य प्रमाण, भिडियो फुटेज लगायतका सामग्री म्यासेज, वाट्सएप आदी माध्यमबाट तथ्य प्रमाण उपलब्ध गराइ सहयोग गरीदिनहुन अनुरोध गरिएको छ ।