चिनले केरुङ नाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या दोब्बर बनाए, आजदेखि दैनिक ८ वटा आउने
Friday, August 28th, 2020, 1:30 pm
amit
काठमाडौ, १२ भदो । चीनले केरुङ नाका हुँदै दैनिक रुपमा नेपाल भित्रिने कन्टेनरको कोटा बढाएको छ । निरन्तरको आग्रह र कुटनीतिक पहलपछि चीनको केरुङ भन्सारले दैनिक दोब्बर संख्यामा कन्टेनर पठाउन सुरु गरेको हो । यसअघि उक्त नाकाबाट दैनिक ४ वटा कन्टेनरको मात्रै प्रवेश गर्ने गरेकोमा शुक्रबारदेखि दैनिक ८ वटा कन्टेनरको जाँचपास गरेर नेपालतर्फ पठाउन थालेको छ ।
पहिरोका कारण १२ दिनदेखि सडक बन्द रहेकाले कुनैपनि सामान आउन सकेको थिएन तर अवरोध खुलेपछि शुक्रबारदेखि सामान आउन थालेको र अब दैनिक ८ वटा कन्टेनर पठाउने जानकारी आएको समेत रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले जानकारी दिएका छन् ।
चिनियाँ पक्षले नेपाल भित्रिने कन्टेनरको संख्या दोब्बर बनाए पनि त्यो पर्याप्त नभएको र सामान्य अवस्थामै औसत ३० वटा कन्टेनरहरु नेपाल आउने गर्छन् । सुरुमा लकडाउनका कारण महिनौँदेखि अड्किएका र पछिल्लो समय पहिरोका कारण बाटो अवरोध हुँदा थपिएका समेत गरी सयौं कन्टेनरहरु सीमापारि अड्किएका छन् । यद्यपि पहिरोको अवरोध खुलेपछि कोटा दोब्बर बनाउनु सकारात्मक रहेको भन्सार प्रमुख खड्काले बताएका छन् ।