कोसेली घरमा तिहार लक्षित विशेष प्रदर्शनी सुरु
Friday, October 17th, 2025, 5:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
हिन्दुहरुको महत्वपुर्ण पर्व तिहार र छठलाई लक्षित गरेर नेपालगन्जमा महिला उद्यमीहरुले विशेष प्रदर्शनी गर्नु भएको छ । प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला सामाग्रीहरु, दिपावली तथा तिहारमा चाहिने खाद्य परिकार, सजावटका सामान, मैनबत्तीका दियोहरुका साथै फुलको माला लगायतका सामानहरु प्रदर्शनीमा राखिएको छ । महिला उद्यमी संघ नेपाल बाँके कोसेली घर नेपालगन्जले आयोजना गरेको दुई दिने प्रदर्शनीमा ११ वटा स्टल राखिएका छन् । दुई दिन सम्म चल्ने प्रदर्शनी नेपालगन्ज–२ सुर्खेत रोड नजिकै रहेको कोसेली घरमा आयोजना गरिएको छ ।
महिला उद्यमीहरुलाई व्यापार व्यवसायमा सक्रिय बनाउन प्रर्दशनीले सहयोग गर्ने कार्यक्रम संयोजक एवम् कोसेली घर नेपालगन्ज अध्यक्ष निरु चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो,‘प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानहरु बिक्रीका लागि राखेका छौं । विशेषगरी तिहार र छठलाई लक्षित गरेर बनाएका सामानहरु प्रदर्शनीमा राखिएका छन् । व्यापार राम्रो भए प्रदर्शनीको दिन बढाउन पनि सकिन्छ ।’

………..
महिला उद्यमी संघ लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले प्रदर्शनीले महिला उद्यमीको मनोबल बढाउने काम गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले थोरै लगानीमा यो प्रदर्शनी गरिरहेका छौं । यसले महिला उद्यमीको व्यापार, उद्यम र सीपलाई व्यवसायिकरण गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’