नागरिकता पाउन सकेनन् ५९ वर्षे राजुले
Friday, October 17th, 2025, 6:08 am
Kalpristha
कृष्ण केसी
राप्तीसोनारी, ३० असोज
राप्तीसोनारी गाउँपालिका–५ गोरधुई साविक विनौना गाविस निवासी ५९ वर्षीय राजु दमाईको नागरिकता नहुँदा उनको परिवार नै समस्यामा परेको छ । राजुको नागरिकता नभएकोले छोरा बुहारी र नातिनीहरूको समेत नागरिता बन्न सकेको छैन् ।
राजु दमाईका बुवा दुई भाइ थिए । राजुका बुवा कृष्ण दमाईको नागरिकता नपाएरै मृत्यु भयो । जेठो बुवा गौरी दमाईले नागरिकता लिनुभयो तर कृष्ण दमाईले नागरिकता नै प्राप्त नगरी मृत्यु भयो । सो पश्चात गरिबीले पिल्सिएको राजु दमाईको परिवारले कहिल्यै आफ्नो जन्मभूमि विनौना त कहिले भारतमै ज्याला र मजदुरीमै गरेर बितायो ।
जीवन बित्यो तर उनका सन्तानलाई आफू जस्तो गैर नागरिक भएर बस्न नपरोस् भनेर छिमेकी भद्र भलादमीको सहयोग माग्दै नागरिकता बनाइदिनको लागि राप्तीसोनारी गाउँपालिका वडा नं ५ को कार्यालय विनौनामा दैनिक धाइरहेका छन् । उनकै जेठो बुवा गौरी दमाईको छोरा दौलत दमाईको परिवारको नागरिकता छ तर कृष्ण दमाईको सन्तानको नागरिकता हुन सकेन । विपन्नता, गरिबी र पहुँच नभएकै कारण दमाई परिवारले नागरिकता पाउन सकेको छैन ।

…………
महिनौ जसो राजनीतिक दलका नेताहरुलाई आफू नेपाली भएर पनि नागरिकता नपाएको बारेमा दुःख व्यक्त गरेपनि उनले नागरिकता पाउन सकेका छैनन । गहभरी आँसु बनाउँदै नागरिकता बन्छ कि भन्ने आशाको त्यान्द्रो लिएर फर्कदै घर जान्छन् । राजुले आफुलाई नागरिकता दिलाउन सहयोग गर्न आम संचार माध्यम र सरोकारवाला निकायलाई अनुरोध गर्दै आएका छन् ।