करण र आयुसाले जिते राप्तीसोनारी नेचर रनको उपाधि
Saturday, November 8th, 2025, 6:58 pm
Kalpristha
कमल खत्री
धम्बोझी, कात्तिक २२ गते
दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जित्नु भएको छ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत बर्षदेखि सुरु गरिएको हो ।
शनिवार राप्तीसोनारीको मदुवामा भएको राप्तीसोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो हुनु भयो । छात्रतर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार, आशीक थारु शीर्ष दश भित्र पर्नु भयो ।
यसैगरी छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो हुनु भयो । मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष दशभित्र स्थान बनाउनु भयो । पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही पाँच हजार, तीन हजार र एक हजार तथा पदकले पुरस्कृत गरियो ।
विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का अध्यक्ष झगरु थारु, वडा नम्बर २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गर्नु भयो ।
कार्यवाहक अध्यक्ष खड्काले राप्ती सोनारी नेचर रनलाई गाउँ पालिकाको बार्षिक कार्ययोजनामा सम्बोधन गर्ने र सबै नौ वटै पालिकाले यस कार्यक्रममा आर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । करिब एक सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मंसिर ६ गते शनिवार हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराउनु भयो ।
धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौं २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट भैरहेका छन् ।