सुन्दर नेपालगन्जको सपना र नागरिकको व्यवहार
Monday, November 10th, 2025, 5:53 pm
Kalpristha
समिर शाही
नेपालगन्ज, २४ कात्तिक
सधैंझैं मेरो निन्द्रा आलारमसँगै खुल्छ । फुटसल मैदानमा पसिना बगाउँदै, पसल खोल्ने हतारले दिनको सुरुवात हुन्छ । जीवनको यिनै दोहोरिने गतिमा कहिलेकाहीँ म आफैमा हराएको अनुभव गर्छु । म एउटा व्यापारी हुँ । आइतबार, सधैंझैँ उठेँ । फुटसल खेलेर फर्केपछि पसल खोल्न घरबाट पसलतर्फ जाँदै थिए । तर बाटोमा मेरो मानसपटलमा एउटा प्रश्न उब्जियोः “नेपालगन्जलाई सुन्दर नगर बनाउने जिम्मा वास्तवमा कसको ?”
सामान्य भाषामा “सुन्दर नेपालगन्ज” भनेको फोहोररहित सहर, व्यवस्थित सडक र ट्राफिक, शान्त र उज्यालो रात्री जीवन, नागरिकको सभ्य व्यवहार, आकर्षक बजार क्षेत्र, संस्कृति र पहिचानले ढाकिएको सहर हो । हरेक नगरबासीको झैं मेरो मनमा पनि सुन्दर नेपालगन्जको सपना छ । सधैं मैले नेताको आलोचना गर्दै हिँडेँ, “यो गरेन, त्यो गरेन, नेता भ्रष्ट छन् ।” तर कहिल्यै आफैलाई सोधिन ।

………………..
म मात्रै होइन म जस्ता कयौं व्यक्तिको मुखबाट सुनिन्छ यो कुरा जुन जनप्रतिनिधिलाई मात्रै जिम्मेवार बनाइरहेका हुन्छन् । चिसो बढ्दै छ । चोक–चोकमा चियामा गफ्फिनेहरु उत्तिकै देखिन्छन । चिया सकिएपछि खाली प्लास्टिकको गिलास सडकमा फ्याक्छन अनि उठेर हिड्दा त्यही फोहोर नगरपालिकाले उठाएन भन्दै गाली गर्छन्, हुन त मपनि त्यसैभित्रको एक पात्र हुँ । त्यसो भए –“सुन्दर नेपालगन्ज बनाउन मेरो भुमिका के ?”
मेरो बानी कति असभ्य छ भन्ने कहिल्यै अन्दाज गरिन । म गुनासो गर्छु कि सहर दुर्गन्धित छ, सडक अव्यवस्थित छ, तर त्यो फोहोर र अव्यवस्थाको सिर्जना म आफैले गरेको हुँ भन्ने कहिल्यै महसुस गरिन । मैले आजसम्म एउटा बिरुवा रोपेको छैन, अनि म आफै भन्छु स्वच्छ हावामा बाँच्न पाए हुन्थ्यो । सहरलाई हरियाली बनाइदिए हुन्थ्यो । सर्वजनिक सम्पत्तिको संरक्षण गर्नतिर मलाई चासो छैन । मौका पाएसम्म भत्काइदिन्छु, जलाईदिन्छु अनि तोडफोड गर्नपनि पछि कहिल्यै पर्दिन किनकी म र मेरा साथीहरु पनि उस्तै–उस्तै छौं ।
नेपालगन्जका अहिलेका मेयर र उपमेयरले “सुन्दर नगर बनाउने हाम्रो अभियान” भन्ने नारा बोकेर चुनाव जिते । नागरिकहरु जस्तै मैलेपनि आशा राखे कि, अब सहर व्यवस्थित हुनेछ, ट्राफिक नियन्त्रण हुनेछ, नगरभित्र सफा–सुग्घर बढ्नेछ, वातावरण हरियालीमय हुनेछ । तर विडम्बना, तीन वर्ष बितिसक्दा पनि सहरको स्वरूप झन कुरुप भएको देख्छु । सडक अव्यवस्थित छन्, फोहोर व्यवस्थापन अधुरो छ, ट्राफिक व्यवस्थित देखिदैन, र फुटपाथ कब्जा गरेर बीच सडकसम्म व्यापार गर्ने जस्ता समस्याले सहरको अनुशासनलाई कमजोर बनाएको छ ।
सुन्दर नेपालगन्ज चाहने म आफै, व्यवहारमा कतिपय अवस्थामा अनियमित, लापरवाह र नियम उल्लङ्घन गर्ने नागरिक बनेको छु । बाटो–घाटोमा प्लाष्टिकको बोतल र पसलबाट निस्किएको फोहर फ्याक्ने, यहाँसम्म कि गुट्खाको खोलसम्म जताततै फ्याँक्ने यी सबैले सहरको सौन्दर्य र स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । तर म कहिल्यै सोच्दिन कि यसमा मेरो पनि जिम्मेवारी छ । म आफुलाई मेरो स्वार्थ पुरा गर्नुछ भनेर ठान्छु, दोष त नेता/प्रशासनको हो भन्ने सोच राख्छु । वास्तवमा मैले देखेको सपना र मेरो व्यवहारबीच ठुलो अन्तर छ ।
जबसम्म मसँगै प्रत्यक नगरीकहरुले आफ्नो नियमित व्यवहारमा सुधार ल्याउन खोज्दैनन, तबसम्म नेपालगन्ज सुन्दर नगरको सपना केवल सपनामै रहन्छ । त्यसैलै नेपालगन्जलाई सुन्दर नगर बनाउने जिम्मेवारी केवल जनप्रतिनिधीको मात्र नभएर आमनागरिकको आफ्नो व्यक्तिगत जिम्मेवारी आ–आफ्नो ठाउँबाट सुधार्न जरुरी छ । सुन्दर नगर हेर्ने मेरो परिकल्पना जिम्मेवारीको व्यवहारमा उतार्न सकेको छैन । प्रतिनिधिको लागि म एउटा पात्र हँु, जो पत्रकारितासँगै व्यवसाय सञ्चालन गर्दै आएको छु ।
उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न ठाउँ–ठाउँमा डस्टविन राखेपनि, दिनभर पसलबाट निस्किएको फोहर बाटोमै हुर्र्याइदिने बानीबाट मुक्त हुन सकेको छैन । अर्कोतर्फ, सामाजिक सञ्जालको बानी परिसकेको हुनाले जहाँ फोहर देख्छु, फोटो खिचेर नेताहरूमाथि आरोप लगाउँदै बस्ने मेरो अर्को कमजोरी छ । बरु त्यो फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने जिम्मेवारी लिन सक्ने ल्याकत ममा छैन । अनि म नै भन्छु, “मलाई सुन्दर शहर चाहिन्छ ।” सुन्दर नगर बनाउने जिम्मा सरकारको मात्रै होइन, प्रत्येक नागरिकको जिम्मेवारी पनि हो ।