बाँकेमा आफुखुसी नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसार गर्ने ५७ विद्युतिय भ्यान नियन्त्रणमा
Tuesday, November 11th, 2025, 12:47 pm
Kalpristha
समिर शाही
नेपालगन्ज, २५ कात्तिक
जिल्ला ट्राफिक कार्यालय बाँकेले आफुखुसी नम्बर प्लेट परिवर्तन गरी सार्वजनिक स्थानमा यात्रु ओसारपसार गर्दै आएका ५७ वटा विद्युतिय भ्यानलाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय बाँकेमा पठाएको छ ।
पछिल्लो समय बाँकेसहित देशभर विद्युतिय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । तर, धेरैजसो चालक र सवारीधनीहरूले रुट परमिट नलिई निजी प्रयोजनका गाडी सार्वजनिक रूपमा चलाउन थालेपछि नियन्त्रणको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक कनक शाहीले जानकारी दिनुभयो ।
इन्सपेक्टर शाहीका अनुसार,“सार्वजनिक रूपमा चलाइरहेका विद्युतिय भ्यानहरू निजी प्रयोजनका लागि दर्ता भए पनि अनुमतिबिना यात्रु ओसारपसार गर्दा नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालयलाई जिम्मा लगाउने कार्य भइरहेको छ ।” उहाँले अहिले सार्वजनिक स्थानमा चल्ने विद्युतिय सवारीमाथि छड्के चेकिङ गरिँदै आएको र सवार यात्रुका एकअर्काको परिचयका आधारमा समेत नियम उल्लङ्घन गर्ने सवारीको पहिचान गरिँदै आएको बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय बाँकेका लेखा प्रमुख दिनेशसिंह ठाकुरका अनुसार, निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनलाई अन्य प्रयोजनमा प्रयोग गरेमा १० हजार रूपैयाँ जरिवाना गर्ने कानूनी प्रावधानअनुसार कारवाही भइरहेको छ । उहाँले जरिवाना पछि सवारी चालक र धनीलाई सम्झाइबुझाइ पठाउने गरेको बताउनुभएको छ । अहिले सम्म ट्रफिक कार्यालयबाट अनुगमन भएतापनि केही समयमै यातायात कार्यालयले पनि अनुगमन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका तथ्यांक अनुसार, चालु आर्थिक वर्षमा हालसम्म ३८० सवारी दुर्घटना दर्ता भएका छन् । जसमा १७ जनाको मृत्यु र ६९४ जना घाइते भएका छन् । सोही अवधिमा ७ हजार चार सय ३१ सवारी साधनमाथि कारवाही गरी ५८ लाख ३३ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ । सवारी चालक र जनतालाई सचेत गराउने हेतुले बेलाबेला सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको इन्सपेक्टर शाहीले जानकारी दिनुभएको छ ।