स्वर्णविन्दु प्राशन गर्ने बालबालिकाको संख्या बढदैं
Tuesday, November 11th, 2025, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २५ कात्तिक
बर्दियाको गुलरियामा गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रममा बालबालिकाको संख्या बढदै गएको छ । मंगलबार बर्दिया गुलरियामा स्वर्णविन्दु प्राशन कार्यक्रम दोस्रो पटक संचालन गरिएको थियो । जहाँ ६ सय ६७ जनालाई स्वर्ण विन्दु सेवन गराइयो ।
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्यक्रम अन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकास तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिको लागि लाभदायक स्वर्णविन्दु प्राशन कार्यक्रम दोस्रो पटक संचालन गरिएको हो ।
हरेक महिनाको पुष्य नक्षेत्रको दिन (जुन शरिरको लागि पोशक दिन मानिन्छ) स्वर्णविन्दु प्राशन गर्नु पर्ने शाष्त्रीय मान्यता रहि आएको छ । यसबाट बालबालिकाहरूको शारिरिक र मानसिक विकासको साथै रोग प्रतिरोधी क्षमता वृद्धि हुने गर्दछ ।
आयुर्वेद विज्ञानको बालरोग सम्बन्धि ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पनामा स्वर्ण भष्म (सुन)लाई घिउ(ब्राह्मी घृत)र मह लगायत औषधि द्रव्यमा मिसायर उमेर अनुसारको निर्देशित मात्रामा थोपाको रूपमा सेवन गराउने विधीलाई स्वर्णविन्दु प्राशन भनिन्छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत हरेक महिना पुष्य नक्षेत्रमा संचालन हुने गरी खुवाउने गरिन्छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया बर्दियाका निमित्त कार्यालय प्रमुख डा. यकराज भण्डारीका अनुसार दोस्रो पटक कार्यक्रम सम्पन्न हुँदा ६ सय ६७ जनालाई स्वर्ण विन्दु सेवन गराइएको छ ।

…
पहिलो पटकको कार्यक्रममा १ सय ८३ बालक र १ सय ४७ बालिका गरि ३ सय ३० जनालाई सेवन गराइएको थियो । यसपटक २ सय १० बालक र १ सय २७ बालिका गरि ३ सय ३७ जनालाई स्वर्ण विन्दु सेवन गराइएको थियो ।