सुदुरपश्चिमको ‘डोमेस्टिक एयरलाइन्स’ श्री एयरलायन्स
Tuesday, November 18th, 2025, 7:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २ मंसिर
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई श्री एयरलाइन्सले ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनरका रुपमा सघाउने भएको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनरको सम्झौता भयो ।
सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमूख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पाेरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गर्नु भयो ।
सम्झौतापछि सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो । श्री एयरलाइन्सका कर्पाेरेट निर्देशक मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताउनु भयो ।
गतवर्ष पहिलो सिजनमा सनसनीपूर्ण प्रदर्शनका साथ फाइनलसम्मको यात्रा तय गरेको सुदूरपश्चिमको टिममा यसपाली पनि राष्ट्रिय टिमका स्टार अलराउन्डर दिपेन्द्र सिंह ऐरी मार्कीको भूमिकामा हुनुहुन्छ ।
यसैगरी टिममा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् । टोली राष्ट्रिय टिमको समेत नेतृत्व सम्हालिसकेका सुदूरपश्चिमकै प्रशिक्षक जगत टमाटाको नेतृत्वमा मैदान उत्रिनेछ । सोमबारबाट सुरु भएको एनपिएल सिजन दुईमा सुदूरपश्चिमले बुधबार काठमाडौं गोर्खाजसँग खेल्दै प्रतियोगिता सुरुआत गर्नेछ ।