देशभरका तीन जिल्लामा हट्यो निषेधाज्ञा, ४९ जिल्लामा भने कायमै
Sunday, August 30th, 2020, 12:56 pm
amit
काठमाण्डौ, १३ भदौ । कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ भने ४९ वटा जिल्लमा निषेधाज्ञा जारी नै रहेको छ।
बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन्।
यसैगरी बितेका केही दिनदेखि निषेधाज्ञा लागू गर्ने जिल्ला थपिने क्रम घटेको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरसहित सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक र गोरखामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ।
यस्तै अर्घाखाँची, कास्की, डोल्पा, मोरङ, डोटी, कैलाली, प्यूठान, सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, र दाङमा पनि पूर्ण निषेधाज्ञा रहेको छ भने ननुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोटमा आंशिक निषेधाज्ञा कायम गरिएको छ।
सरकारले जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको हुनाले विभिन्न पालिकाले पनि आफ्नो क्षेत्रमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्छन्।