कांग्रेस नीतिप्रधान पार्टी होः सहमहामन्त्री राठौर
Friday, November 28th, 2025, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १२ मंसिर
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस नेता प्रधान नभै नीतिप्रधान पार्टी भएको बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत्को स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्ने क्रममा सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति सिद्धान्तलाई गौण बनाउँदै म भएमात्र काँग्रेस बच्छ म नभए काँग्रेस सिद्धिन्छ भन्ने भाष्य सिर्जना गरेर केही व्यक्तिहरुले नीतिप्रधान काँग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताउनु भयो ।
काँग्रेसमा पछिल्लो समयमा देखिएको विवादको मुख्य चूरो पार्टी नीतिप्रधान र नेताप्रधान भन्ने रहेको बताउनु भयो । नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र काँग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उहाँले बताउनु भयो ।
उहाँले वीपी कोइराला, सुवर्ण शम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरुले स्थापना गरेको पार्टीमा उहाँहरु पछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै काँग्रेस कुनै एक नेताको पार्टी नभै विचार, सिद्धान्त, निष्ठा र आस्थाको संगठन भएको बताउनु भयो ।
नेपाली काँग्रेसमा नेताहरु अस्थायी र नीति तथा विचार स्थायी रुपमा रहेको र देशका तमाम मजदूर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मासिनसहरुको साझा घर भएको बताउनु भयो ।
३–३ वटा प्रमुख आन्दोलनको अगुवाई गरेको गौरवमय इतिहास भएको र आधुनिक नेपालको हरेक कालखण्डमा निर्णायक भूमिका खेलेको पार्टीको सभापति हुने, नेतृत्व गर्ने चाहना राख्नु नेताहरुको लागि स्वाभाविक भए पनि अहिले पहिले मुलुकमा आइपरेको अप्ठेरो एकजुट भएर सामना गर्नुपर्ने र त्यसपछि आन्तरिक विषय टुंगो लगाउनु पर्ने आफ्नो मत रहेको उहाँले बताउनु भयो । १५ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार हुने तयारीमा आफू पनि रहेको उहाँले बताउनु भयो ।