सभापति खाँले मनोमानी ढंगले क्रियाशिल सदस्य फारम वितरण गरेको आरोप
Friday, December 12th, 2025, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मीनारायण शाहले बाँके क्षेत्र नम्बर–३ सभापतिले आफनो मनोमानी ढंगले क्रियाशिल सदस्यताको फारम वितरण गरेको आरोप लगाउनु भएको छ । पार्टीको केन्द्रिय निर्देशन विपरित क्षेत्रीय सभापति नक्की खाँले क्रियाशिल सदस्यता वितरण गरिरहेको भन्दै त्यसको बारेमा शाहले सार्वजनिक रुपमा आपत्ति जनाउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको परिपत्र बमोजिम प्रदेश, पालिका हुँदै वडा बाट वितरण हुनु पर्ने क्रियाशील सदस्यता फाराम नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मो. नक्की खानले आफ्नो मनोमानी ढंगले वितरण गरिरहनु भएको छ । यो पार्टीको निर्देशन विपरितको कार्य हो । क्षेत्रीय सभापति खाँले गरेको क्रियाकलापको बारेमा निस्पक्ष छानविनको लागि म अपिल गर्दछु ।’
उहाँले अगाडी भन्नु भयो, ‘सत प्रतिशत बितरण हुनुपर्ने क्रियाशिल सदस्य आंशिक रूपले आफ्नो निकटका व्यक्तिहरुलाई बोलाई बितरण गरिएको छ । स्थानीय नेता तथा वडा सभापतिले समेत यसको बिरोध गरिरहनु भएको छ । यो समस्यालाई जिल्ला कार्यसमिति र केन्द्रिय कार्यसमितिले समयमै विवाद समाधान गरी क्षेत्रीय सभापतिलाई कारवाही गर्नु पर्छ ।’ कांग्रेस महाधिवेशन आगामी पुस २६ देखि २८ गते सम्म हुँदैछ ।
नेपाली कांग्रेसका सात तह (वडादेखि केन्द्रसम्म) मा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनको निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् ।