नरैनापुरको पर्यटन प्रवर्दन र विकास बारे पाँच बुद्धे घोषणा पत्र जारी
Wednesday, December 24th, 2025, 7:42 pm
Kalpristha
दुर्गा प्रसाद पौडेल
नरैनापुर, ९ पुस
नरैनापुरको पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्य सहित नरैनापुर घोषणा पत्र जारी गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा भएको नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा पाँच बुद्धे घोषणा पत्र जारी गरिएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी र नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले संयुक्त रुपमा हस्ताक्षर गर्दै घोषणा पत्र जारी गर्नु भएको हो । जसमा नरैनापुरमा स्थानीय पयर्टनको प्रवद्र्धन गर्दै आर्थिक विकासमा योगदान गर्ने लक्ष्य राखिएको छ ।
घोषणापत्रको पहिलो बुद्धामा नरैनापुर गाउँपालिका वडा नम्बर ३ को बर्फानी बाबाधाम, वडा नम्बर ४ को गोबद्र्धनधाम, वडा नम्बर ६ को सन्तानेश्वर महादेव लगायतका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिर्पोट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने ।
दोस्रो बुद्धामा नरैनापुरको उत्तरी भेगमा रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा(हाईकिङ) को रुपमा अघि सारेको नीति र योजना प्रवद्र्धनमा सहकार्य गर्ने, तेस्रो बुद्धामा नरैनापुरका सामुदायिक वनलाई जडिबुटी पकेट क्षेत्रको रुपमा र वनभोज स्थलको रुपमा विकासमा सहयोग गर्ने, चौथो बुद्धामा कुनै समय बाँकेको कर्णालीको उपमा पाएको नरैनापुर अहिले अन्नको भण्डारको रुपमा रहेको छ ।
कृषि उपजमा आधारित पर्यटकीय गन्तव्य विकास गर्न प्रदेश र संघीय सरकारलाई दबाब दिन हातेमालो गर्ने र पाँचौ बुद्धामा नरैनापुर गाउँपालिका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचार प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका संचार संस्था र पत्रकाहरुसँग निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाउने उल्लेख गरिएको छ ।
घोषणा पत्र जारी गर्न अघि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको अध्यक्षतामा भएको नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली र बाँकेका संचारकर्मीहरुले आफना भनाई राख्नु भएको थियो ।