नेपाल क्षयरोग निवारण संस्थाको २९औं वार्षिक साधारण सभा सम्पन्न
Saturday, January 3rd, 2026, 8:05 pm
Kalpristha
प्रहलाद विश्वकर्मा
नेपालगन्ज, १९ पुष
नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २९औं वार्षिक साधारण शनिवार नेपालगंज सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभासद् एवं प्रमुख अतिथि मीना श्रेष्ठले क्षयरोग निवारणको लागि यस संस्थालाई प्रयोगशालाको लागि उपकरण उपलब्ध गराइएको जानकारी दिँदै संस्थागत विकासमा जोड दिनु भयो ।
नेपाल क्षयरोग निवारण संस्था (नाटा) को पूर्वसभापति शान्ति श्रेष्ठले आपूm नेतृत्व हस्तान्तरण गरे पछि जस्तो अवस्थामा संस्था आगाडी बढनु पर्ने त्यो नभएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
नाटाका पूर्वसभापति पूर्णलाल चुकेले आर्थिक श्रोतको अभावका कारण चाहेर पनि कार्यक्रम गर्न कठिनाई भैरहेको कुरा उल्लेख गर्दै तर, क्षयरोग विरूद्धको अभियानमा शाखा निरन्तर लागिपरेको र हामी निष्कृय नभएको बताउनु भयो ।
आइएनएफ बाँकेका कार्यक्रम प्रमुख मंगल थारुले विगत लामो समयदेखि क्षयरोग निवारण संस्थासंग सम्बन्ध सहकार्य गर्दै आएको र आगामी दिनमा पनि संगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सभामा आजीवन सदस्यता प्राप्त गरेका १३ जना नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । हाल संस्थामा १ यशस्कर र २ सय १५ जना आजीवन सदस्य रहेका छन् ।
आगामी दिनमा डट्स कार्यक्रम संचालन, क्षयरोगीको खोजी कार्यक्रम, विद्यालयमा जुनियर नाटा गठन, लक्षित वर्गसँग समन्वय गोष्ठी, आजीवन सदस्यता विस्तार लगायत कार्यक्रम प्रस्ताव गरिएको छ ।
नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाटाकी केन्द्रीय सदस्य रचना श्रेष्ठ, निवर्तमान सभापति बदरुदीन अन्सारी लगायतले विचार व्यक्त गर्नु भएको थियो । बार्षिक प्रगति प्रतिवेदन संस्थाको सह–सचिव सन्ध्या शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्यामसुन्दर अधिकारीले प्रस्तुत गर्नु भएको र सभाबाट व्यापक छलफल पछि पारित गरिएको थियो ।