दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी तिव्र
Wednesday, January 21st, 2026, 5:06 pm
Kalpristha
नेपालगन्ज, माघ ७ गते
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी माघको १४ देखि नेपालगन्जमा हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गते सम्म संचालन हुनेछ ।
महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामाग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्य सहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रदर्शनीको तयारी तिव्र गतिमा अगाडी बढिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘महिला दिदीबहिनीहरुलाई उद्यमशीलता तर्फ आर्कषित गर्न यो प्रदर्शनी महत्वपुर्ण सावित हुँदै गएको छ । विगतमा जस्तै दशौं संस्करणलाई भव्य बनाउन सम्पुर्ण महानुभावहरुको हामीले सहयोगको अपेक्षा गरेका छौं ।’
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको १०औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगर्डको मुख्य प्रयोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदुरपश्चिमका गरी करिब २ सय महिला उद्यमीहरुको सहभागिता रहने प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताउनु भयो ।
करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामाग्री, हस्तकला सामाग्री, खाद्य सामाग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामाग्री तथा वस्तुहरु बिक्री वितरण, प्रचार प्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताउनु भयो ।
करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रदर्शनीका दौरान विज्ञहरुको उपस्थितीमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि ‘बैकिंक कारोबार, उद्यमशिलताको बारेमा अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गरिनेछ ।

…………
महिला उद्यमीहरुको प्रोत्साहनको लागि आयोजना गरिने यस लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीले महिला उद्यमीहरुमा उत्साह जगाइहेको महिला उद्यमीका नेतृत्वहरुले बताउनु भएको छ । प्रदर्शनीले नव आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताउनु भयो । महिला उद्यमी संघ नेपाल बाँके निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताउनु भयो ।