बाँके २ मा पूर्व मन्त्री इस्तियाकलाई चुनौती दिने उम्मेदवार शुुधान्सु
Thursday, January 22nd, 2026, 6:16 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ माघ
बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र नेपाली काँग्रेस बाँकेका जिल्ला सचिव सुधांशुु कोइरालाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति सुरु गर्नुभएका राईले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । विभिन्न समयको निर्वाचनमा सहभागि हुँदै पटक–पटक मन्त्री बन्दै आउनुभएका राई यस पटक पुनःनिर्वाचनमा सहभागि हुनुभएको छ । राई २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लागेर राजनीति सुरु गर्नुभएको थियो । २०६२–६३ को जनआन्दोलनका समय उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) प्रवेश गर्नुभएको थियो ।
त्यसको दुई वर्षभित्रै उहाँ पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव हुनुभयो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन मजफोको उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट राई निर्वाचित हुनुभएको थियो । दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बन्नुभयो । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारको शहरी विकास मन्त्री हुनुभयो ।
ओलीले असंवैधानिक बाटोबाट विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशबाट पुनस्र्थापित भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा पनि उहाँ केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभयो । राजनीति शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका राई नेपालगन्जको शहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा योगदान गरेको दाबी गर्दै आउनुभएको छ ।
बिकासको बाँकी कामलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको राइले बताउनुभएको छ । स्थानीय निर्वाचन २०७४ मा राई २१ हजार ५ सय ७५ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत प्राप्त गर्नुभएको थियो । राप्रपा र कांग्रेसको गठबन्धनबाट ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको थियो ।
राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । जसपा नेपालबाट उम्मेदवार बन्नुभएका उहाँ राप्रपाका डा. धवलशमशेर राणासंग पराजित हुनुभएको थियो । डा.राणासँग राई ६ हजार ५७ मतले पराजित हुनुभएको थियो । राप्रपाका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने राईले २३ हजार ५२० मत प्राप्त गर्नुभएको थियो ।
राईसँग प्रतिस्पर्धामा उतरेको सुधांशुु कोइराला नेपाली काँग्रेस बाँकेका पार्टी सचिव हुनुहुन्छ । काँग्रेसले युवा उम्मेदवारका रुपमा कोइरालालाई अघि सारेको छ । कोइरालाको घरपरिवार नै राजनीतिक पृष्ठभूमिको छ । सुधांशु काँग्रेस बाँकेका पूर्व पार्टी सभापतिद्वय किरण कोइराला र स्वर्गीय डा.अरुण कोइरालाका छोरा हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको हो । पूर्व प्रधानमन्त्री शुशिल कोइरालाका भतिजा हुनुहुन्छ ।
कोइराला पार्टीभन्दा बाहिरको निर्वाचनमा पहिलो पटक उम्मेदवार हुनुहुन्छ । दरुण दलमा सक्रिय हुँदै कोइरालाको राजनीति सुरु भएको थियो । २०७० सालमा दरुण दलको केन्द्रीय पार्षद पदमा निर्वाचित कोइराला निर्वाचित हुनुभएको थियो । यद्यपी सोअघि पार्टीको विभिन्न गतिबिधिमा सहभागि भएर कोइरालाले सहयोग भूमिका निर्वाह गर्र्दै आउनुभएको थियो । २०७२ सालमा नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्यमा कार्यसमितिका पदाधिकारीहरुमा सबैभन्दा धेरै मत ल्याएर सुधांशुु बिजयी हुनुभएको थियो ।
कोइरालाले समाज शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०७८ सालमा पार्टीको जिल्ला सचिवमा सबैभन्दा धेरै मत ल्याएर कोइराला बिजयी हुनुभएको थियो । राजनीति समाजसेवा हो र आफ्नो उम्मेदवारी देश र समाजको सेवा गर्नु रहेको कोइरालाले बताउनुभयो । आफु निर्वाचित भएपछि भ्रष्टाचारको नियन्त्रण र सुशासनका लागि आफ्नो सक्रियता रहने दाबी गर्दै कोइरालाले यस क्षेत्रको विकासका लागि जनताको भावना अनुसार कार्य गर्ने बताउनुभयो ।