व्यवसायीले शुधांशुलाई दिए जितको शुभकामना
Friday, January 23rd, 2026, 7:12 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार शुधांशु कोइरालालाई नेपालगन्जका व्यवसायी समुदायले एकजुट हुँदै विजयको शुभकामना तथा समर्थन व्यक्त गरेका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका पदाधिकारी तथा सदस्यहरूले बिहीबार नेपालगन्जमा उम्मेदवार कोइरालासँग भेटघाट गर्दै आगामी निर्वाचनमा सफलताको कामना गरेका हुन् ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको नेतृत्वमा गएको टोलीले कोइरालासँग भेटघाट गरी व्यवसायी समुदायका समस्या, चुनौती र अपेक्षाबारे छलफल गरेको थियो । भेटघाट कार्यक्रमबारे जानकारी दिंदै संघका सचिव हिमनाथ पौडेलले व्यवसायीहरूको तर्फबाट लोकतान्त्रिक मूल्य, निजी क्षेत्रको सम्मान र व्यावसायिक वातावरण सुदृढ बनाउने नेतृत्वको आवश्यकता महसुस गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गरिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष थापाले पछिल्लो समय नेपालको राजनीतिमा युवाको भूमिका निर्णायक बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवाको भावना बुझ्न सक्ने, युवासँग संवाद गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । शुधांशु युवा, ऊर्जाशील र स्पष्ट दृष्टिकोण भएका नेता हुनुहुन्छ । उहाँको जित सुनिश्चित छ र यसमा नेपालगन्जका व्यवसायीहरू एकजुट छन् ।”
त्यस अवसरमा उम्मेदवार शुधांशुले उपस्थित व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै आफ्नो जित केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण व्यवसायी समुदाय र आम नागरिकको जित हुने बताउनुभयो । नेपालगन्ज बाँके जिल्लाको प्रमुख व्यावसायिक केन्द्र भएपनि व्यवसायीहरूको समस्या समयमै सम्बोधन हुन नसकेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
“कुनै पनि दल वा नेताले व्यवसायी हितलाई प्राथमिकतामा राखेर काम गरेको अनुभव मैले गर्न पाएको छैन,” उहाँले भन्नुभयो, “निर्वाचित भए व्यवसायीहरूको हक–हित संरक्षण, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाका लागि आवश्यक नीतिगत पहल मेरो पहिलो प्राथमिकता हुनेछ ।”
नेपाली कांग्रेस बाँकेका जिल्ला सचिवसमेत रहनुभएका कोइरालाले व्यवसायीहरू लोकतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै नीति निर्माण तहमा उनीहरूको आवाज पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँहरू प्रतिनिधिका रूपमा आफ्ना समस्या र सुझाव लिएर आउनुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उहाँले भन्नुभयो, “व्यवसायी समुदायको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु ।”
भेटघाट कार्यक्रममा संघका अध्यक्ष संजय थापासहित उपाध्यक्षहरू धुव्र दाहाल, प्रदिप गुप्ता र उमा ग्रान्डन, सचिव हिमनाथ पौडेल, सहसचिव मख्खनबहादुर धामी, कोषाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, सदस्यहरू बद्री श्रेष्ठ, सन्तोष कुमार पौडेल, सुरेश परियार र शालिक सुवेदी सहभागी हुनुहुन्थ्यो । साथै सल्लाहकार तथा नेपाल ट्रेड युनियन बाँकेका अध्यक्ष तोजिन्द्र विक, व्यवसायी सुरेन्द्र श्रेष्ठलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।