गैरसरकारी संस्था महासंघको १५ बुँदे विशेष प्रस्ताव पारित
Saturday, January 24th, 2026, 9:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १० माघ
गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । मिति २०८२ माघ ८ र ९ गते सम्पन्न बैठकले देशको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, संविधान, मानवअधिकार र आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो ।
बैठकले २०८२ साल माघ २३ र २४ गते जे–एन–जी (नवयुवा) ले गरेको आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित क्षतिपूर्ति र आवश्यक औषधी उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।
जे–एन–जी आन्दोलनपश्चात देशमा लोकतन्त्र, संविधान र शासन व्यवस्थामाथि गम्भीर संकट देखिएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आम निर्वाचनमार्फत संवैधानिक व्यवस्थाको संरक्षण आवश्यक रहेको महासंघको ठहर छ । सोही सन्दर्भमा प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा महासंघले यो बैठकलाई अत्यन्त महत्वपूर्ण मानेको जनाएको छ ।
बैठकमा देशको समग्र विकासमा सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । नागरिक समाजले गाउँ–टोलदेखि केन्द्रसम्म पहरेदारी, खबरदारी र साझेदारीको भूमिकामार्फत सामाजिक रूपान्तरण, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन, द्वन्द्वकाल तथा विपद्को समयमा मानवीय सहायता, महिला सशक्तिकरण, क्षमता विकास र पछाडि परेका समुदायको पक्षमा निरन्तर योगदान गर्दै आएको महासंघले जनाएको छ । यस्ता योगदानलाई राज्यका नीति, कार्यक्रम तथा आवधिक योजनाले समेत स्वीकार गर्दै आएको उल्लेख गरिएको छ ।
महासंघले नागरिक समाज सधैं लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, आवधिक निर्वाचन र सुशासनको पक्षमा उभिँदै आएको र राज्यका निकायलाई आवश्यक परामर्श तथा सहयोग प्रदान गर्दै आएको स्पष्ट पारेको छ ।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनताको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यो संवेदनशील समयमा लोकतान्त्रिक उपलब्धिको रक्षा र संविधानको संरक्षणको लागि सबै राजनीतिक दलहरूको प्रतिबद्धतालाई महासंघले सकारात्मक रूपमा लिएको जनाएको छ । बैठकबाट पारित १५ बुँदे विशेष प्रस्तावमार्फत महासंघले सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ ।