स्व. सुशिल कोइरालाको क्षेत्रलाई कांग्रेसले यसपटक फर्काउछः नेता सुधान्सु
Saturday, January 24th, 2026, 9:12 pm
Kalpristha
नेपालगन्ज, माघ १०
नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधान पिता, पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोइरालाको निर्वाचन क्षेत्र बाँके–२ लाई यसपटक फर्काएर ल्याउने उद्घोष गर्नु भएको छ । नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका कोईराला क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्र्दभमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरिय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु धेरै रहेको बताउनुभयो ।
‘क्षेत्र नम्बर २ मा यसपाली नेपाली कांग्रेसले झण्डा गाड्नेछ, कांग्रेसको संगठन यति बलियो छ, नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमा हामीबाट कमी/कमजोरी भयो, गठबन्धनका नाममा हामीले रुखमा भोट हाल्न बिर्सिसकेका थियौं, सुशिल कोइरालाको क्षेत्रलाई हामीले रुख चिन्हमा भोट हालेर यसपटक फर्काएर ल्याउनेछौं ।’ क्षेत्र नम्बर २ जतिकै बाँकेको क्षेत्र नम्बर १ र ३ मा पनि आम जनताले नेपाली कांग्रेसलाई माया गर्ने उहाँको भनाई छ ।
आफु निर्वाचित भएपछि संविधान पिता स्वर्गिय सुशिल कोइरालाको निष्ठालाई कायम गरेर देखाउने र कांग्रेसका सबै क्रियाशिल सदस्यको सम्मानमा कमी हुन नदिने उम्मेदवार सुधान्सुले प्रतिबद्धता जनाउनु भयो ।
कांग्रेसले यसपटक आफुलाई युवा अनुहार स्वरुप उम्मेदवारका रुपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो । ‘म हाम्रो पार्टी सभापति आदरणीय गगन थापा ज्यु लगायत सबै मेरा सबै नेताहरुलाई धन्यवाद दिन चाहन्छु, सबैको आर्शिवाद लिएर म अगाडी बढ्नेछु, हामी भनेको रुख नै हो, चार तारे नै हो,’ उहाँले थप्नुभयो, ‘म हजुरहरुमाझ आर्शिवाद लिए आएको छु, वडा तहदेखीका सबै नेताहरुले आशिर्वाद दिनुहुनेछ, पुर्वप्रधानमन्त्री एवम् पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाको क्षेत्र पनि हो, यो क्षेत्रमा हामीले झण्डा गाड्ने कुरा भईसकेको छ ।’ हेभिवेट उम्मेदवारको प्रसंग कोट्याउँदै कोइरालाले कांग्रेसले बाँके–२ सहित देशभरका ७७ वटै जिल्लामा आफ्ना हेभिवेट उम्मेदवार उठाएको दाबी गर्नुभयो ।