योगिनी कप माघ महिनामा नहुने
Thursday, January 29th, 2026, 9:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
दोस्रो योगिनी कप फुटबल प्रतियोगिता प्राविधिक कारणले केहि समयका लागि स्थगित गरिएको छ । योगिनी युवा क्लबको आयोजनामा माघ १५ देखि खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने तयारी भैरहेको थियो ।
प्राविधिक कारणले प्रतियोगिता केहि समयका लागि सारिएको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो । अब आयोजना गर्ने नयाँ मिति क्लबको आगामी बैठकले निर्णय गर्ने अध्यक्ष पुनले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आयोजनाको लागि प्रर्याप्त समय अभाव भएका कारण अहिले स्थगित गरेका छौं । तर छिटै हामी नयाँ मिति सार्वजनिक गरेर प्रतियोगिताको तयारीमा लाग्नेछौं ।’
क्लबले युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक काम गर्न प्रेरित गर्ने उद्देश्यले योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्ने तयारी गरेको थियो । प्रतियोगिताको पहिलो संस्करण २०७६ सालमा भएको थियो । आसन्न प्रतिनिधि सभा निर्वाचन र प्राविधिक कारणले प्रतियोगिताको मिति केहि महिना पछि सरेको प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो । प्रतियोगितामा लुम्बिनी प्रदेशका क्लबहरुलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको छ । प्रतियोगिता बाँके जिल्ला फुटबल संघको नियम अनुसार आयोजना गरिने संयोजक राईले बताउनु भयो ।