वस्तुको गुणस्तरबारे महिला उद्यमीको अन्तर संवाद
Friday, January 30th, 2026, 4:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ माघ
महिला उद्यमी संघ नेपाल बाँकेले वस्तुको गुणस्तर निर्धारण सम्बन्धि अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको दौरान शुक्रबार अन्तर संवाद आयोजना गरिएको हो । अन्तर संवाद कार्यक्रममा केएल दुगर्ड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेका प्रमुख प्रशान्त पोखरेलले महिला उद्यमीका जिज्ञासा, वस्तु गुणस्तर, प्रचार प्रसारको बारेमा आफना अनुभव राख्नु भएको थियो ।
केएल दुगर्ड गु्रपका महाप्रबन्धक छाजेडले वस्तुको ब्राण्डिङ्ग, उत्पादित वस्तु तथा सामाग्रीलाई सफल बनाउन ब्राण्डिङ्गको भुमिका, केएल दुगर्ड ग्रुपले आफना उत्पादनको ब्राण्डिङ्ग गर्ने तरिका, स–साना उद्यमी, व्यवसायी महिला दिदीबहिनीहरुले ब्राण्डिङ्ग कसरी गर्नु पर्छ भन्ने बारेमा आफना विचार राख्नु भएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेका प्रमुख प्रशान्त पोखरेलले आफनो कार्यालयले गरिरकेका कामहरुको बारेमा बताउँदै वस्तुको गुणस्तरलाई परिक्षण गर्ने सामान्य तरिका, उद्यमीले उत्पादन गरेका वस्तु तथा सामाग्रीको गुणस्तरलाई कसरी व्यवस्थापन गर्ने, गुणस्तर मापदण्ड पालना नगर्दा उद्यमी, व्यवसायीले सामना गर्नु पर्ने कारबाही, वस्तुको गुणस्तरलाई कसरी व्यवस्थापन गर्ने, गुणस्तर मापदण्ड व्यवस्थापनमा महिला उद्यमीले कसरी ध्यान दिने लगायतका बारेमा आफना अनुभव सुनाउनु भएको थियो । अन्तर संवादको सहजीकरण महिला उद्यमी संघ नेपाल बाँके कार्यसमिति सदस्य रिचा लुइटेलले गर्नु भएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा भएको अन्तर संवाद कार्यक्रममा नेपाल महिला उद्यमी महासंघको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा, महिला उद्यमी संघ नेपाल बाँकेको निवर्तमान अध्यक्ष साबित्रा पोख्ररेल बस्नेत, संघका पुर्व अध्यक्ष, प्रदर्शनी संयोजक संघको प्रथम उपाध्यक्ष आभा गौतम लगायतको सहभागिता रहेको संघको महासचिव विन्दु चर्तिमगरले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आयोजना गर्दै आएको छ । यस वर्ष भैरहेको १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी माघ १४ देखि १८ गते सम्म बागेश्वरी मन्दिर परिसरमा चल्नेछ । प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिला उद्यमीहरुको उत्पादनलाई बिक्री तथा प्रवद्र्धनका लागि ७५ स्टल राखिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगर्ड ग्रुपको मुख्य प्रायोजनामा भैरहेको प्रदर्शनीले महिला उद्यमीका उत्पादनलाई बजारीकरणमा महत्वपुर्ण योगदान गरिरहेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके महासचिव विन्दु चर्तिमगरले बताउनु भयो ।