मतदातासँग भेटघाटमा सक्रिय हुँदै राप्रपा उम्मेदवार देवकोटा
Sunday, February 1st, 2026, 10:31 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
राप्रपाका सहायक महामन्त्री, युवा नेता तथा राष्ट्रवादी योद्धा ऋषिराज देवकोटा आज विभिन्न कार्यक्रममा सहभागी भई भेटघाटमा व्यस्त रहनुभएको छ। उहाँ आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारका रूपमा बाँके जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ।भेटघाटका क्रममा उहाँले राष्ट्रियता, धर्म–संस्कृति र सर्वधर्म सम्मानको विषयमा आफ्ना धारणा व्यक्त गर्नुभयो ।
देवकोटाले राप्रपा सबै धर्मलाई समान सम्मान गर्ने पार्टी भएको उल्लेख गर्दै नेपालमा करिब ९४ प्रतिशत नागरिक हिन्दु धर्मावलम्बी भएकाले देश–विदेशमा नेपालको पहिचान हिन्दु राष्ट्रका रूपमा स्थापित भएको बताउनुभयो।धर्म भनेको केवल पूजा–पाठ मात्र होइन, यो विश्वमा देशको पहिचान पनि हो,” उहाँले भन्नुभयो।
उहाँले नेपाल ॐकार परिवारभित्रको बहुल जनसंख्या भएको राष्ट्र भएकाले पुनः हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राख्नुभयो। राप्रपामा मुस्लिम समुदायका धेरै साथीहरू पनि आबद्ध रहेको र उनीहरू समेत हिन्दु राष्ट्र तथा राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय रूपमा लागिरहेको उहाँले जानकारी दिनुभयो।
पहिले हिन्दु राष्ट्र र राजसंस्था हुँदा मुस्लिम दाजुभाइ–दिदीबहिनीबाट ठूलो साथ र सहयोग प्राप्त भएको थियो,” देवकोटाले स्मरण गर्दै भन्नुभयो, “राप्रपा सर्वधर्म सम्मान गर्ने, राष्ट्रिय पहिचान जोगाउने र सबै समुदायलाई एकताबद्ध बनाउने पार्टी हो।”
सर्वधर्म सम्मान गर्दै हिन्दु राष्ट्रको पहिचान बचाउने पार्टी राप्रपा भएकाले बाँके क्षेत्र नम्बर २ लगायत देशभर यसपटकको निर्वाचनमा जनताले सही निर्णय गर्ने विश्वास आफूले लिएको उहाँले व्यक्त गर्नुभयो