उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
Sunday, February 1st, 2026, 9:19 pm
Kalpristha
गणेश राई
नेपालगन्ज, १८ माघ
महिला उद्यमीमा नयाँ उत्साह थप्दै १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको प्रदर्शनी नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा पाँच दिन सम्म चलेको थियो । माघ १४ देखि १८ गते सम्म आयोजना गरिएको प्रदर्शनीमा केहि नयाँ उद्यमीले पहिलो पटक सहभागिता जनाउनु भएको थियो । प्रदर्शनीमा पहिलो पटक स्टल राखेर व्यापार गर्नु भएकी नेपालगन्ज–१८ सन्जिता बस्नेतले सुरुआतमा आउँदा लाज लागेपनि अहिले ढुक्क भएर व्यापार गर्न सक्ने भएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘आफुमा भएको प्रतिभालाई देखाउन लाज मान्नु हुदैंन । सबैदिदी बहिनीहरुलाई म भन्छु आफुलाई जे बनाउन आउँछ, त्यसलाई बिक्रीको लागि प्रयास गर्नु पर्छ । प्रदर्शनीमा आउँदा धेरै दिदी बहिनीहरुलाई चिने । एक अर्कालाई प्रोत्साहन मिलेको छ ।’
बस्नेतले व्यवसाय सुरु गरेको एक वर्ष पनि भएको छ । छोटो अवधिमै पाएको सफलताले आफुलाई थप उत्साही बनाएको उहाँले बताउनु भयो । बस्नेतले आइतबार संघको नयाँ सदस्यता समेत लिनु भएको छ । नेपालगन्जका महिला उद्यमीले हरेक वर्ष नियमित रुपमा आर्थिक सशक्तिकरणको लागि प्रदर्शनीको आयोजना गर्दै आउनु भएको छ । जहाँ पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका महिला दिदी बहिनीहरुले उत्पादन गरेका वस्तु तथा सामाग्रीहरुको बजारीकरण र प्रवद्र्धनको लागि प्रोत्साहन गर्ने गरिन्छ ।
मंगलबार भएको समापन समारोहको प्रमुख अतिथी नेपाल महिला उद्यमी महासंघ केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले सात जनाबाट सुरु गरेको विन बाँकले २३ वर्षको अवधिमा महिला उद्यमीको विकासमा थुप्रै योगदान गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘सम्मानित हुने बहिनीलाई धेरै धेरै बधाई । विनले उद्यम, व्यापारसँगै आफनो क्षेत्रमा लगनशील भएर काम गरिरहेका उद्यमीलाई सम्मान पनि गर्छ । यसले उहाँहरुलाई थप उत्साही भएर काम गर्न सहयोग गर्छ ।’
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण उद्यमी, प्रयोजक, प्रदर्शनीमा स्टल राख्ने उद्यमी, सहयोगी दाता र मिडियाकर्मीलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो,‘सबैको सहयोगले आज भव्य रुपमा प्रदर्शनी सम्पन्न भएको छ । यसले महिला उद्यमीमा नयाँ उत्साह र उर्जा थपेको हामीले विश्वास लिएका छौ ।’
महिला उद्यमी संघ नेपाल बाँकेको निवर्तमान अध्यक्ष साबित्रा पोख्ररेलले हरेक वर्ष प्रदर्शनीले नयाँ सफलता हासिल गर्दै नयाँ सम्भावना उजागार गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालमा धेरै यस्ता प्रदर्शनी हुन्छन । तर हाम्रो अन्य भन्दा विशेष हुनुकारण संघको लक्ष्य स्पष्ट छ । हामी महिला उद्यमीलाई विशुद्ध उद्यमी गर्न अभिप्रेरित गर्ने, प्रोत्साहन गर्ने र बजारीकरणमा एक अर्कालाई सहयोग गर्छौं । उद्यम गर्न लाज मान्ने, डराउने महिलाको अभिभावक बनेर हामी काम गरिरहेका छौं ।’
संघको महासचिव विन्दु चर्तिमगरले संचालन गरेको कार्यक्रममा प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष आभा गौतम, संघको पुर्व अध्यक्ष सुशिला गौतम, संघको दिृतिय उपाध्यक्ष बबिता मैनालीले महिला उद्यमीहरुको नेतृत्व क्षमता, सीप र उत्साह बढाउनको लागि सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

……….
नेपालगन्ज उप–महानगरपालिकाको सहयोग र केएल दुगर्ड ग्रुपको मुख्य प्रयोजनमा भएको प्रदर्शनीको १०औं संस्करणमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको राखिएको संघको महासचिव विन्दु चर्तिमगरले बताउनु भयो । ६ लाख बजेट रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेका थिए ।
अमृता थारुलाई महिला उद्यमीको सम्मान
महिला उद्यमी अमृता कुमारी थारुलाई महिला उद्यमी संघ नेपाल बाँकेले १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको दौरान सम्मान गरेको छ । राप्ती सोनारी–०६ महिमानपुर, बाँके निवासी अमृताले साया व्युटीपार्लर एण्ड टे«डिङ्ग सेन्टर संचालन गर्दै आउनु भएको छ ।

…….
अमृताको परिवार रोजगारीका लागि भारत भएको भएको दुर्घटनमा उहाँको एउटा खुट्टा काटिएको थियो । ११ महिनाको हुँदा अमृताको भारतमा कुखुराको दाना बनाउने मेसिनमा खुट्टा काटिएको थियो । तर उहाँले अमृतले हिम्मतको साथ समाजमा भएका तमाम कठिनाई र चुनौतिको सामना गर्दै विगत पाँच वर्ष देखि साया व्युटीपार्लर एण्ड ट्रेडिङ्ग सेन्टर संचालन गरेर आर्थिक रुपमा सबल बन्ने प्रयास गरिरहनु भएको छ । ३१ वर्षीया अमृताले आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बन्न, उद्यम र व्यवसाय गर्न अभिप्रेरित गरेको भन्दैं संघले सम्मान गरेको हो ।
अमृताले सुरुआतमा ३ लाखबाट व्यवसाय सुरु गर्नु भएको थियो । सिद्धेश्वर माविबाट प्लस टु पास गर्नु भएको अमृताले गाउँकै हाल दुइ जना महिलालाई पनि रोजगारी पनि दिइरहनु भएको छ ।
यसैगरी समापनको अवसरमा संघको पुर्व अध्यक्ष सुशिला गौतमलाई सम्मान गरिएको थियो । प्रदर्शनीमा उत्कृष्ट स्टलको रुपमा राप्ती खुकुरी उद्योग दाङ्गको संचालक टिका विकलाई सम्मान गरिएको थियो । त्यस्तै प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्नु हुने विभिन्न ९ वटा उपसमितिका संयोजकलाई आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंह, प्रमुख अतिथी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा र निर्वतमान अध्यक्ष साबित्रा पोख्ररेलले सम्मान गर्नु भएको थियो ।