सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति परिवर्तन गर्नुपर्छः सभापति पुन
Sunday, February 8th, 2026, 12:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २५ माघ
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानको लागि नीतिगत रुपमा प्रयास गर्ने बताउनु भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नको लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालको लालपुर्जा छ । भुमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर बैंकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमुल्यन हो । जमिनको मुल्यांकन कम होला तर बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नु पर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’
सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिक प्रति सरकारले अन्याय गरेको पुनले बताउनु भयो । उहाँले भन्नु भयो,‘जसले नेपालको अस्तित्व जोगाईदिनु भएको छ । जसले देशको सीमा सुरक्षामा चौकिदारी गरेका छन् । उनीहरुकैं जमिनको मुल्य मान्यता नहुनु दुःखद कुरा हो । मुंल्याकनमा कम होला, त्यो आफनो ठाउँमा छ । तर बैंकले धितो नराख्ने कुरा नयाँ पुर्ण छैन् ।’
बाँके खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेट्घाट गर्ने क्रममा पुनले यहाँको विकासको लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताउनु भयो । राधापुरमा यसअघि पनि नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माण काम भएको बताउँदै अब नयाँ योजनाहरु कार्यान्वयनमा आफुले पहल गर्ने बताउनु भयो । राधापुरको विकासको लागि स्थानीय नागरिकसँगै छलफल गरेर अगाडी बढने उहाँले बताउनु भयो ।

………..
खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गर्नु भएको थियो । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनता दुःख पाइरहेको उहाँले बताउनु भयो ।