सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
Thursday, February 12th, 2026, 7:06 pm
Kalpristha
बाँके, माघ २९ गते
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सामाजिक संजाल कब्जा गरेर मात्र देशको वास्तविक अवस्थालाई लुकाउन नसकिने बताउनु भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएका नेता पुनले केहि राजनिति दलले सामाजिक संजालमा नकारात्मक टिप्पणी गरेर जनतालाई भ्रममात्र छर्ने काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘नकारात्मक आलोचनाले मात्र देशको विकास गर्न सकिदैन् । नेपाली कांग्रेस नेपालको समृद्धिको नयाँ नयाँ संकल्पको साथ जनता माझ आएको छ । हामी सपना सहित आएका छौं । अहिलेको आवश्यकता अनुसार विकास गर्ने एजेन्डा सहित आएका छौं ।’
बाँके क्षेत्र नम्बर ३ का स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा पुनले गगन थापा र बालेन्द्र शाहबिच कुनै तुलना हुन नसक्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाले २६ प्रतिशत भन्दा धेरै कार्य सम्पादन गर्न सकेन् । त्यो भन्दा धेरै विकास बैजनाथ गाउँपालिकामा भएको छ । यहाँको पालिकाले ८४ प्रतिशत भन्दा धेरै कार्यसम्पादन गरेको छ । काठमाडौंमा जस्तो महानगरपालिकाले गरेको विकास गति त्यही हो ।’

………
आवेगमा आएर देश जलाउन उकास्ने नेतृत्वबाट देश विकासको कल्पना गर्न नसकिने नेता पुनले बताउनु भयो । उहाँले थप्नु भयो, ‘उहाँहरुको आवहनमा भएको आन्दोलनले देश जलाउने र युवाहरुको ज्यान लिने अवस्थामा लगेको थियो । हामीले सोचे जस्तो विकास भएको छैन होला । हामी युवाले चाहेजस्तो, अहिलेको आवश्यकता अनुसार विकास गछौं ।’ समाज परिवर्तनको लागि नेपाली कांग्रेसले धेरै काम गरेको बताउँदैं भविष्यमा पनि देशको आवश्यकता अनुसार काम गर्ने बताउनु भयो ।