चीनले भन्यो, ‘लद्दाखको झडपमा भारतीय सैनिक मारिएका छैनन्’
Wednesday, September 2nd, 2020, 3:43 pm
amit
एजेन्सी, १७ भदौ । चीनले पछिल्लो समय लद्दाखको सीमामा भारतीय र चिनियाँ जनमुक्ति सेनासँग बीच भएको झडपमा परी एक जना पनि भारतीय सैनिक नमारिएको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले बुधबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्ने क्रममा गत शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा भएको झडपमा एक जना पनि भारतीय सैनिकको मृत्यु नभएको बताएकी छिन्।
यसअघि झडपका क्रममा भारतको विशेष सुरक्षा बलका एक जनाको मृत्यु भएको समाचार प्रचार प्रसार भएको थियो। सो समाचारका अनुसार निर्वासित तिब्बती संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीलाई उद्धृत गरिएको थियो। दुबै देशका अधिकारीहरूले औपचारिक रूपमा झडपमा कसैको मृत्यु भएको पुष्टि गरेका थिएनन्।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता चुनयिङले उक्त क्षेत्रमा सवारी दुर्घटनामा परी एक जना भारतीय सैनिकको मृत्यु भएको समाचार आफूले पनि पढेको बताएकी छिन्।
भारतका विदेश र रक्षा मन्त्रालयले केही दिनअघि जनमुक्ति सेना लद्दाखमा यथास्थितिलाई तोडेर भारत नियन्त्रण क्षेत्रमा आउन खोजेको तर भारतीय सेनाले उनीहरूलाई रोकेको बताएका छन् नि भन्ने प्रश्नमा प्रवक्ता चुनयिङले भारतीय पक्षले नै सहमति उल्लंघन गरेको दाबी गरेकी छिन्।
हामी भन्छौं नि गल्ती गर्नेले आफूलाई निर्दोष देखाउन ठूलो स्वरमा बोल्छ। हो, भारतले त्यस्तै गरेको हो। सीमा क्षेत्रमा उसले उत्तेजित पार्ने गतिविधि गरिरहेको छ, उनले भनिन्, यो वर्षको सुरूदेखि नै भारतले पटकपटक त्यस्ता नियन्त्रण रेखामा फेरबदल ल्याउने प्रत्यन गरिरहेको छ। यसको सबै जिम्मेवारी भारतलाई जान्छ।
उनले जारी तनाव चीनले वार्ताका माध्यमबाट समाधान गर्न चाहेको भन्दै भारतले पनि त्यही कुरालाई मान्नु पर्ने बताएकी छिन्।