कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रतिज्ञापत्र सार्वजनिक
Saturday, February 21st, 2026, 4:58 pm
Kalpristha
कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोडने प्रतिज्ञा
कमल खत्री
नेपालगन्ज, फागुन ९ गते
बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोडने प्रतिज्ञा गर्नु भएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनु भएका पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामाग्री केन्द्र, कपास विकास समिति, नौवस्ता औद्योगिक क्षेत्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि निर्देशनालय तथा अनुसन्धान केन्द्रको स्तरउन्नती आफ्नो मुख्य एजेन्डाको रुपमा रहेको सार्वजनिक गर्नु भएको हो ।
शनिबार प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापनि पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले भोग्दै आईरहेको समस्याका बारेमा आफुले नीतिगतमा रुपमा समाधानको लागि पहल गर्ने घोषणा गर्नु भयो ।
आफनो मुख्य प्रतिवद्धताहरु घोषणा गर्ने क्रममा उम्मेदवार पुनले सार्वजनिक र संस्थागत विद्यालयको स्तर उन्नतीसँगै ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र खजुरा कृषि क्याम्पसलाई व्यवस्थित गरिने बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा आम नागरिकले सेवा पाउने कुरालाई जोड दिदैं सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति गर्दै अत्याधुनिक स्रोत र साधनको वृद्धि गर्दै सेवालाई प्रभावकारी बनाउन जोड दिने पुनले बताउनु भयो ।
जेन्जी युवाको सकारात्मक मागलाई आत्मसाथ गर्दै सडक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थापन गर्दै प्राविधिक विश्वविद्यालयको पढनपाठन खजुराबाटै गराउन विशेष पहल गर्ने उहाँले बताउनु भयो ।
कृषि तथा सिंचाई आर्थिक विकासको मुख्य आधारलाई आत्मसाथ गर्दै स्थानीय कृषि उत्पादनको बजारीकरण, एक क्षेत्र, एक उत्पादन, कृषकले भोग्दै आईरहेको मुख्य समस्या मल, बिउ, सिँचाईको विस्तारमा विशेष पहल गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ । आर्थिक उन्नतीका लागि कृषि उत्पादनलाई जोड दिदंै सिक्टा सिँचाई, भेरी बबई डाइभर्सन, र बबई सिँचाई नहरलाई व्यस्थित गर्ने उहाँले बताउनु भयो ।
युवालाई खेलकुदको माध्यमबाट उत्प्रेरणा जगाउने वातावरण निर्माणसँगै शुक्र रंगशाला, डि गाउँस्थित मिनी रंगशाला, सैनिकको खेलकुद मैदान, खजुरा ब्याडमिन्टन कभर्ड हलको स्तरोन्नतिमा जोड दिदैं स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको सम्मान गर्दै स्थानीय देखि राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनामा प्रोत्साहन गर्ने उम्मेदवार पुनले बताउनु भयो । नव प्रतिभा, नवप्रवर्तन, सीप र प्रविधि मार्फतको युवालाई आर्थिक समृद्धिसँग जोडने वातावरणको निर्माण गर्ने बताइएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अवसर र सम्मान गर्दै उहाँहरुको सशक्तिकरण गरिने प्रतिज्ञा पत्रमा उल्लेख छ । महिलालाई सीपमुलक र व्यवसायिक तालिम मार्फत उद्यमशीलतामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन, उद्योग र रोजगारलाई समृद्धिको दिगो आधार मान्दैं धार्मिक तथा सामाजिक सद्भावलाई थप सुदृढ गर्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च मौरिया, थन्वा, मर्वा इदगाहको संरक्षण, सम्वद्र्धन गर्दै भौतिभ पुर्वाधार निर्माणमा पहल गरिने बताइएको छ । मानसरोवर, गाभर भ्याली, वन, तालतलैयाको संरक्षण गर्दै विभिन्न समुदायको समाधि तथा अन्त्येष्टि स्थललाई व्यवस्थित गरिने बताइएको छ ।
भुमि तथा वस्ती व्यवस्थापन दिगो आवासको आधारको मान्यतालाई आत्मसाथ गर्दै भुमिहिन, सुकुम्बासी व्यवस्थापन गर्दै जंगली जनावरबाट स्थानीय जनताले खेपिरहेको सास्ती व्यवस्थापनको दिर्घकालिन योजना बनाउने, जलवायु तथा वातावरण संरक्षण गर्ने, वृक्षारोपण र आधुनिक कृषिमा पहल गर्दै हरियाली प्रवद्र्धनको योजना बनाएर काम गर्ने प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।
विपद व्यवस्थापनमा दिगो योजनालाई व्यवस्थि गर्दै विपद न्युनीकरण र पुर्व तयारीलाई प्रभावकारी गराउने पुनले बताउनु भएको छ ।
उम्मेदवार पुनले आफना ६ वटा नीतिगत प्रतिवद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ सभापति नक्की खाँको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवार पुनले नेपाल भारत सीमावर्ती क्षेत्रको जमिन बैंकले धितो नराख्ने समस्यालाई नीतिगत रुपमा समाधान गर्ने, कृषकको आत्मविश्वास वृद्धि गर्ने वातावण निर्माण गर्ने, क्षेत्र नम्बर ३ को समग्र विकासका लागि थप नयाँ बृहत्तर विकासका गुरुयोजना बनाएर काम गर्ने बताउनु भयो ।
यसैगरी नागरिकसँग प्रत्यक्ष रुपमा समन्वय गरेर नागरिकका समस्या समास्या समाधानमा जोड दिने, इमानदारिता, पारदर्शिता, जवाफदेहीतालाई आत्मसाथ गर्दै नागरिकलाई छिटो छरितो ढंगले सेवा प्रदानमा पहल गर्ने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३(ख) सभापति राजेन्द्र आचार्यले संचालन गरेको प्रतिज्ञा घोषणा सभा कार्यक्रममा बाँके क्षेत्र नम्बर ३ (क) सभापति केशव शाहले स्वागत मन्त्वय राख्नु भएको थियो ।