पराजित भएपनि प्रत्येक वडामा पुगेर पुनले दिए मतदातालाई धन्यवाद
Monday, March 9th, 2026, 8:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ फागुन
बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले निर्वाचनमा पराजित भएर पनि प्रत्येक वडामा पुगेर आम मतदातालाई धन्यवाद दिनु भएको छ ।
फागुन २१ गते भएको आसन्न प्रतिनिधि निर्वाचनमा पुनले बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको थियो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले निर्वाचनमा जित हार एउटा प्रक्रिया भएको भन्दैं आम मतदातालाई निर्वाचन प्रक्रियामा सहभागि भएर सफल बनाउनु भएकोमा धन्यवाद दिनु भयो ।
उहाँले भन्नु भयो,‘निर्वाचनमा प्रतिस्पर्धा गरेपछि हार जित हुन्छ । त्यसलाई स्वीकार गर्दै अगाडी बढने हो । मलाई यस क्षेत्रका हजारौं जनता तथा कार्यकर्ताले निर्वाचनमा दौरानमा सहयोग गर्नु भयो । साथ दिनु भयो । मेरो लागि जनतासँग गएर मत माग्नु भएको छ । उहाँहरुलाई म हृदयदेखि आभार प्रकट गर्न चाहन्मा सहयोग गर्नु भएको छ । उहाँहरुलाई म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । म सधै बाँके क्षेत्र नम्बर ३ का जनताको ऋणी भएको छु । यहाँको विकास र समृद्धिको लागि सक्दो सहयोग गर्छु ।’
दुई दिन सम्म नागरिक धन्यवाद कार्यक्रम गरेर पुनले बाँके क्षेत्र नम्बर ३ को बैजनाथ र खजुरा गाउँपालिकाको ८–८ वडा, जानकी गाउँपालिकाको ६ वडा र नेपालगन्ज उपमहानगरपालिकाको २ वडामा पुगेर स्थानीय मतदाता र कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै यहाँको समृद्धि र विकासमा सधै सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई आफुभित्र भएर कमजोरलाई सुधार गर्दै अगाडी बढन सन्देश दिएको पुनले बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारका रूपमा सहभागी हुने अवसर प्रदान गर्नुहुने सम्पूर्ण मतदाता, आम नागरिक, पार्टी तथा साथीहरूमा म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु । निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि तपाईंहरूले दिनुभएको विश्वास, माया र समर्थन मेरो लागि अत्यन्त ठूलो प्रेरणा हो । मत दिएर साथ दिनुहुने सबै नागरिकहरूलाई हार्दिक आभार व्यक्त गर्दछु । साथै, निर्वाचन अभियानमा दिनरात खटिनुहुने पार्टीका साथीहरू, शुभेच्छुकहरू र सहयोगीहरूमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’
पुनले थप्नु भयो, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने सम्पूर्ण दलका उम्मेदवारहरूप्रति सम्मान प्रकट गर्दै, यस क्षेत्रबाट विजयी हुनुभएका खगेन्द्र सुनारज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निर्वाचनमा केही प्राविधिक तथा परिस्थितिजन्य कारणहरूले हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर म यहाँका नागरिकहरूको सेवा, सहयोग र क्षेत्रको विकासका लागि आगामी पाँच वर्ष पनि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
संविधान सभा सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले आफनो राजनिति संस्कार प्रस्तुत गरेर जनता प्रति आफु सधै उत्तरदायी भएको सन्देश दिनु भएको बताउनु भयो । क्षेत्रको सम्पुर्ण वडामा पुगेर उम्मेदवार पुनले स्थानीय जनताको मनोबल बढाउने काम गर्नु भएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ सभापति नक्की खाँले बताउनु भयो ।

………