बन्यजन्तु जोगिन्छन्, मान्छे मारिन्छन्
Friday, March 27th, 2026, 9:35 pm
Kalpristha
प्रत्येक चुनावमा राजनीतिक दलविशेषको अजेण्डा हुने गर्दछ, मानव र वन्यजन्तुबीचको द्धन्द्ध समाधानकालागी नीतिगत रुपमै उपाय खोज्ने । तर, चुनाव सकिएसंगै दलका यी अजेण्डा पनि विर्सिइन्छ । र, अर्को चुनाव आउनु अघिसम्म बन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाउनेहरुको ग्राफ उकालो लागिसक्छ । बाके र बर्दियाका कतिपय वस्तीका बासिन्दाले बेहोर्दै आएको यो त्रासदी देशभरकै वनजंगल छेउ बस्नेहरुको नियती भएको छ ।
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १३ चैत
२२ माघ २०८२ मा चितुवाको आक्रमणमा परेर बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका वडा नं ९ की ४९ वर्षिया मैसारा डागीको मृत्यु भयो । गाउ नजिकैको जनजागृती सामुदायिक वनमा घास काट्न गएका रोकाय चितुवाले आक्रमणमा परेका थिए ।
डागी पनि छिमेकीसंगै घास काट्दै गर्दा चितुवाले आक्रमण परेकी थिइन । एकै दिन बन्यजन्तु चितुवाको आक्रमणमा परेर दुई जनाको मृत्यु भए पछि आक्रोशित स्थानिय बासिन्दा र पिडितका परिबारले मान्छे मार्ने चितुवालाई तत्कालै नियन्त्ररणमा लिनु पर्ने , पीडित परिवारलाई राहत, क्षतीपूर्ती र रोजगारको व्यवस्था गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरे । पीडितका आफन्त र स्थानीवासीहरूले प्रशासन कार्यालय घेराउ गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष , भण्डार कक्ष र लेखा शाखाको ढोका तोडफोड गरे ।

………….
पीडितका आफन्त र स्थानीवासीहरूको आक्रोशलाई मत्थर पार्न स्थानिय प्रशासनले सर्वदलिय सर्वपक्षिय बैठक आब्हान गर्र्याे । पीडित परिवार सहित बसेको बैठकले चितुवा नियन्त्रणका लागि प्रचलित कानुन बमोजिम सबै उपायहरू अवलम्बन गरि डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र जिल्ला स्थित सुरक्षा निकायहरूलाई तत्कालै परिचालन गर्ने, मृतक रोकायको ९ बर्षिय छोरा रितिकको पढ्न पाठन र श्रीमति शुस्मालाई गुलरिया नगरपालिकाले जागिर दिने निर्णय गर्र्याे । मृतकका परिबारलाई नेपाल सरकारबाट जनही १० /१० लाख राहात उपलब्ध गराउने सहमती भए पछि मृतकका आफन्त र स्थानिय बासिन्दाहरुको आक्रोश मत्थर भएको छ ।
राष्ट्रिय निकुन्ज र सामुदायिक बनको किनाराका सर्याै गाउ बस्तीमा बसोबास गर्ने लाखौ स्थानिय बासिन्दाहरु बर्षाै देखि बन्यजन्तुको त्रासमा बाच्दै आएका छन । बन्यजन्तुको आक्रमणमा परेर ज्यानै जाने, घाइते हुने , पशुपंक्षी , बाली नाली र घर गोठमा आक्रमण हुने क्रम बर्षेनी बढ्दैको छ ।
२३ जेठ २०७८ मा मधुवन नगरपालिका २ ओराली बजार कि ४१ वर्षीया अस्मिता थारु आफ्नै बारीमा खनजोत गरि रहेका बेला चितुवाको आक्रमणमा परिन । भाग्यबश आक्रमणमा परेर बाचेकी थारुको दाया हातको औला भाचियो । खुटटामा गहिरो चोट लाग्यो । वन्यजन्तुको आक्रमण बढे पछि आक्रोशित भएका ओराली बजार क्षेत्रका सयौ स्थानीय बासिन्दा जिउधनको सुरक्षाको माग गर्दै सडकमा उत्रिए । स्थानिय बासिन्दा सडक यातायात बन्दै गर्दै नाराबाजीमा उत्रिए पछि स्थानिय प्रशासनले बार्ताका माध्यामबाट उनीहरुको माग सम्बोधन गर्ने भन्दा बल प्रयोग गरेर सडक यातायात खोल्ने प्रयास गर्र्याे ।

………
स्थानिय बासिन्दा माथि लाठी चार्ज अश्रु ग्यास प्रहार गरर्याे । स्थिति तबानग्रस्त बन्दै गए पछि प्रर्दशनकारीलाई नियन्त्ररण लिने नाममा गोली चलायो । बन्यजन्तुको आक्रमणबाट जीउधनको सुरक्षाको माग गर्दै सडकमा उत्रिएकी कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भयो । ४ जना प्रर्दशनकारी घाइते भए । २५ जेठमा तत्कालिन संघिय सांसद सन्तकुमार थारु, पिडित परिबारका सदस्य सर्वदलिय बैठक बसेर मधुवन नगरपालिका २,३,४ र ५ नम्बर वडाका निकुन्ज र बनजंगल किनाराका बस्तीलाई सुरक्षित गर्न फेन्सिङ तारका साथै कंक्रिट वाल निर्माणका लागि पहल गर्ने ,मृतक नविना थारुको शालिक निर्माण गर्ने सहमती भयो ।
स्थानिय बासिन्दाको आक्रोशलाई थामथुमका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति बनायो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक -एसपी) कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव धु्रब खड्का सदस्य रहेको समिति बनायो । समिति बन्यो । छानबिन पनि भयो । प्रतिबेदन पनि बन्यो । तर नत प्रतिबेदन नै सार्बजनिक भयो । नत बन्यजन्तुको आक्रमणबाट स्थानिय बासिन्दा र उनीहरुको पशुपंक्षी , बाली नाली र घर गोठ जोगाउनका लागि दीर्घकालिन र योजनाबद्ध कार्यक्रम संचालन नै सुरु भयो ।
सर्बदलिय निर्णय अनुसार मृतक नबिनाको शालिक पनि बन्यो । बस्तीलाई सुरक्षित गर्न फेन्सिङ तारजालीको काम पनि सुरु भयो । तर पर्याप्त बजेट नहुदा फेन्सिङ तारजाली निर्माणको काम दुई/तीन वटा बस्ती मै सिमित भयो । बस्तीलाई बन्यजन्तुको आक्रमणबाट जोगाउनका लागि तारबारको ब्यबस्था सम्म नहुदा खेतबारीमा काम गरिरहेको अवस्थामा समेत स्थानिय बासिन्दाहरु बन्यजन्तको आक्रमणमा पर्ने गरेका छन । घास दाउरा काटन , सागपात टिप्न बनमा जादा वन्यजन्तुले आक्रमण गर्ने र ज्यानैसम्म लिने सम्मका घटना निरन्तर बढ्दै गएको छ । १६ पुस २०८२ का दिन साझ पख बर्दियाको राजापुर नगरपालिका वडा नं. १० करमोहनी गाउकी बालिका सेन छिमेकी साथीसंगै बारीमा घास काट्दै थिइन् । घास काट्दै गरेको अवस्थामा अचानक हात्ति आइपुग्यो । हात्ती आएको देखेर बालिका भाग्न खोजिन तर सकिनन । हात्तीको आक्रमणमा परेर ज्यान नै गयो । १२ मा करमोहनी गाउकै लक्ष्मण बुढाथोकी गोठाला गएको अवस्थामा चितुवाले आक्रमणमा परे । भाग्यबश बाचेका बुढाथोकी गुलरिया जिल्ला अस्पतालमा उपचार पछि घर त फर्किएका छन । तर उनले पुन गोठाला जाने हिम्मत गर्न सकेका छैनन ।

……….
बालिका र लक्ष्मण त प्रतिनिधि पात्र मात्रै हुन बन्यजन्तुको आक्रमण परेर ज्यानै गुमाएका र घाइते हुनेको संख्या सय नाघि सकेको छ । चालु आर्थिक बर्ष २०८२/०८३ को साउन देखि फागुन सम्ममा मात्रै बन्यजन्तुको आक्रमणमा परेर बर्दियामा १० र बाकेमा ३ जना गरेर १३ जनाको ज्यान गइ सकेको छ । स्थानिय तह , प्रदेश र संघिय सरकारले माबन बन्यजन्तु द्धन्द न्युनिकरणका लागि कार्यक्रम नै संचालन नगरेरका भने होइनन । तर तीनै तहका सरकारले संचालन गरेर कार्यक्रम समस्याको दिगो समाधान गर्ने भन्दा पनि तत्कालका लागि थामथुम पार्ने प्रकृतिका धेरै छन । संघिय सरकारले बन्यजन्त्ुको आक्रमणमा परेका ब्यक्तिका परिबारलाई राहात स्वरुप जनही १०/१० लाख उपलब्ध गराउछ ।
निकुन्ज क्षेत्रमा भएका घटनामा राष्ट्रिय निकुन्ज र बन क्षेत्रमा भएका घटनामा डिभिजन बन कार्यालयहरु मार्फत राहत रकम बिबरण हुन्छ । संघ सरकारले निकुन्ज कार्यालयहरु मार्फत र प्रदेश सरकारले डिभिजन बन कार्यालय मार्फत फेन्सिङ तारका साथै कंक्रिट वाल निर्माणको काम हुदै आएको छ । तर न्युन बजेटका कारण अझै पनि अधिकाश उच्च जोखिममा रहेका बस्तीमा फेन्सिङ तार जाली निर्माण सम्म नभएको गुनासो स्थानिय बासिन्दाहरुको छ ।
त्यसै गरी स्थानिय तहहरुले पनि फेन्सिङ तार जाली निर्माण, सोलार बत्ती जडान र प्रभाबित परिबारलाई राहातका पुराउने उद्देश्यले स साना कार्यक्रमहरु संचालन गर्दै आएका छन ।
लुम्बिनी प्रदेशका वन मन्त्रालय महाशाखा प्रमुख टोलक प्रसाद चापागाईका अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा प्रदेश सरकारले मानब बन्यजन्तु द्धन्द ब्यबस्थापनका लागि एक करोड २४ लाख ३८ हजार रुपैया खर्च गरेको छ । त्यसैगरी चालु आर्थिक बर्ष २०८२/०८३ मा जम्मा एक करोड ९९ लाख ९० हजार बजेट बिनियोजन गरिएकोमा फागुन समान्त एक करोड एक लाख ५८ हजार रुपैँया खर्च भएको छ । त्यो रकमबाट प्रभाबित परिबारलाई राहत तथा क्षतिपूर्ति वितरण गर्ने गरिएको छ ।
बर्दिया र बाकेमा मानब बन्यजन्तु द्धन्दको समस्या बर्षेनी बढ्दै गए पनि ऐन कानुनमा संशोधन र प्रभाबकारी कार्यक्रम संचालन गरेर द्धन्द न्युनिकरण गर्न सकिने बर्दिया राष्ट्रिय निकुन्जका पुर्ब वार्डेन एब संरक्षणकर्मी रमेश थापा बताउछन । थापाका बिचारमा मानब बन्यजन्तु द्धन्द न्युकिरणका लागि ५३ बर्ष पहिला बनेको राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु ऐन २०२९ लाई समय सापेक्ष संशोधन गर्नु अत्याबश्यक छ । सोही ऐनमा रहेको मध्यबर्ति क्षेत्रको ब्यबस्थापन अन्र्तगत बन्यजन्तुको ब्यबस्थापन निकुन्ज र प्राकृतिक साधन स्रोत ढुंगा गिटटी बालुवा , काठ दाउराको ब्यबस्थापन स्थानिय तहलाई दिनु पर्छ ।
त्यसै गरी समस्याग्रस्त बन्यजन्तु अर्थात घाइते र बृद्ध बन्यजन्तु आबादी क्षेत्रमा प्रबेश गरेको अबस्थामा त्यसलाई नियन्त्ररणमा लिने, उपयुक्त स्थानमा स्थान्तरण गर्ने र मार्न सक्ने प्रष्ट नीतिगत ब्यबस्था र त्यस सम्बन्धी कार्य गर्नका लागि दक्ष जनशक्ति र बजेटको ब्यबस्थापन गर्नु पर्ने सुझाब पुर्ब वार्डेन थापाको छ । मानब बन्यजन्तु द्धन्द न्युनिकरणका क्षेत्रमा लामो समय देखि काम गर्दै आएका संरक्षणकर्मी आशिष चौधरी भन्छन: बन्यजन्तु ओहोरा दोहोर गर्ने जैबिक माग क्षेत्रमा रहेका बस्तीहरुलाई ब्यबस्थित गर्ने नीतिगत र बजेटको ब्यबस्थापन गरेर एकीकृत बस्ती बिकास योजना लागु गरेर सुरक्षित बनाउन सकिन्छ ।
निकुन्ज र बनजंगलको किनारामा बसोबास गर्ने प्रत्येक नागरिक बिमा सरकारले गरि दिनु पर्छ । त्यसै गरी उनीहरुको पशुपक्षी, खेतीबाली र घर गोठमा हुने क्षति न्युनिकरणका लागि बिशेष बिमा कार्यक्रम संचालन गरेर क्षति हुना साथ क्षतिको मुल्यांकन गरेर शतप्रतिशत क्षतिपुर्ति बिमाबाट गरि दिने ब्यबस्था गर्न सकिन्छ । पछिल्ला दिनहरुमा चितुवाको आक्रमण बढ्दै गएको छ ।
चितुवाबाट हुन सक्ने आक्रमण नियन्त्ररणका लागि बिशेष किसिमको खोर निर्माण गरी चितुवालाई ट्रापमा पारेर नियन्त्ररणमा लिने र सुरक्षित स्थानमा लगेर ब्यबस्थापन गर्न सकिन्छ । त्यसका लागि सरकारले बिशेष किसिमको खोर र चितुवा नियन्त्ररण दस्ताको बन्दोबस्त गर्न सक्छ । बदेलबाट खेतीबालीमा हुने क्षति न्युनिकरणका लागि नीतिगत रुपमै ब्यबस्था गरेर खेतीबालीमा क्षति पुराउने बदेललाई नियन्त्ररणमा लिएर घरपालुवा जनाबरको रुपमा पाल्ने र काटेर मासु बिक्री गर्न सक्ने ब्यबस्था गर्न सकिन्छ । त्यसो गर्दा बदेल पालेर मासु बिक्री गरेर बन्यजन्तु प्रभाबित क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्न सक्छन ।
चुनाबी अजेन्डा
बर्दिया जिल्लामा हुने पालिका , प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्बाचनहरुमा मानब बन्यजन्तु द्धन्द न्युनिकरण चुनाबी मुद्दा बन्ने गरे पनि मानब बन्यजन्तु द्धन्द न्युनिकरणका लागि प्रभाबकारी नीति र कार्यक्रम संचालन नहुदा स्थानिय बासिन्दाहरु निराश बन्दै गएका छन । बर्दिया क्षेत्र नं. १ का नब निर्बँचित प्रतिनिधि सभा सदस्य ठाकुर सिंह थारु भन्छन: मानब बन्यजन्तु द्धन्द न्युनिकरणका लागि ५३ बर्ष पुरानो राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु ऐन २०२९ लाई समय सापेक्ष संशोधन गर्नु पर्छ ।
प्रतिनिधि सभा सदस्यको रुपमा मानववन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि ऐन कानून संशोधनलाई पहिलो प्राथमिकतामा राखेर संसदमा आबाज उठाउने र ऐन कानून संशोधन गरेर वन्यजन्तु संरक्षण संगै मानवको बाच्न पाउने अधिकार सुनिश्चित हुने नीतिगत ब्यबस्था र कार्यक्रम संचालनका लागि पहल गर्छु । मानब बन्यजन्तु द्धन्दको उच्च जोखिममा रहेका केही वस्तीलाई अर्काे सुरक्षित ठाउमा सारेर भए पनि बन्यजन्तुको आक्रमणबाट हुने धनजनको क्षति न्युनिकरणका बिशेष कार्यक्रम संचालनका गर्ने तयारी गर्ने बताए ।
त्यसै गरी बर्दिया क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य श्रीधर पोखरेल भन्छन:अनुसार मानव वन्यजन्तु सह अस्तित्व कायम गर्ने विषय निकै जटिल भए पनि हिंस्रक वन्यजन्तु बिशेष गरी चितुवाबाट हुने आक्रमण घटाउनका लागि नीतिगत रुप मै सुधार गर्नु पर्छ । मानब बन्यजन्तु द्धन्द न्युनिकरणका क्षेत्रमा क्रियाशित बिज्ञ लगायत सरोकारबाला पक्षहरुसंग सहकार्य गरेर दिगो समाधानको लागि निरन्तर पहल गर्ने बताए ।
बाके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सुरेसकुमार चौधरीका अनुसार वन्यजन्तुबाट मानव, घरपालुवा पशु र बालीनालीमा ठूलो क्षति भैरहेको अवस्था छ । मानव र वन्यजन्तुको बिचको सहअस्तित्व निर्माणको लागि नीतिगत सुधार देखि जोखिमपूर्ण वस्तीलाई स्थानान्तरको प्रक्रियाबाट समाधानको लागि पहल गर्नु पर्छ । प्रतिनिधि सभा सदस्य चौधरी भन्छन: उच्च जोखिममा रहेका बस्तीका नागरिकको सुरक्षाका लागि बिज्ञ र सरोकारबाला निकाय संग सहकार्य गरेर मानव वन्यजन्तु द्धन्दलाई न्युनिकरणका लागि पहल गर्ने छु ।