खजुरा गोल्ड कपको तयारी तिव्र, चैत ३० गते देखि प्रतियोगिता हुँदैं
Monday, March 30th, 2026, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, चैत १६
खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा विदेशी टिम सहितको सहभागितामा गोल्ड कप फुटबल प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो ।
चैत्र ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तिब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लवले जनाएको छ । गोल्ड कपको तयारी सम्बन्धमा आज सोमबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्ड कपमा २ वटा विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लवका अध्यक्ष बालाराम खत्रीले बताए । उनका अनुसार गोल्ड कपमा संकटा क्लव काठमाडौं, एपीएफ क्लव, चर्च ब्वाईज क्लव काठमाडौं, नाइजेरियन जोन क्लव, नाइजेरिया, लखनउ साहारा क्लव भारत, गोरखा ब्वाईज स्पोर्टस् क्लव, बुटवल, कांक्रेबिहार क्लव सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्टस् क्लव खजुराको सहभागिता रहने छ ।

……….
प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । क्लवका अध्यक्ष खत्रीले गोल्ड कप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । खजुरा गाँउपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा डी गाँउका स्थानीय समाजसेवी लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफ सीका संचालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँकी आयोजकको आन्तरिक श्रोतबाट जुटाइने गरि तयारी गरिएको अध्यक्ष खत्रीले बताए ।
गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा बाल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरुले बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए ।
खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले फुटबल प्रेमिहरुको सपना खजुरामा गोल्डकप गर्ने भन्नने हो उक्त सपना छिटै पुरा हुनेमा विश्वस्त रहन आग्रह गरे । खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भुमिका रहनेहुदाँ गोल्डकपले फुटबल खेलको विकास सगै युवामा खेलप्रति अभिरुचि जगाउने उल्लेख गरे । प्रतियोगिता खजुरा स्थित मिनी रङ्गशाला डि गाउँ स्थीत फुटबल ग्राउण्डमा सञ्चालन हुने छ ।