उडानको संख्या थप गर्ने, दैनिक ३ हजार नेपालीलाई आउन दिने : उड्डयन मन्त्री योगेश भट्टराई
Thursday, September 10th, 2020, 5:04 pm
amit
काठमाण्डौ, २५ भदौ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्किनका लागि दैनिक कोटा बढाउने भएको छ। उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार पिसिआर परीक्षण नेगेटिभ भएका यात्रुहरुको मागको आधारमा उडान संख्या थप गर्दै जाने र यसरी आउँदा दिनमा ३ हजारसम्म आउनेछन् भने अब नेपाल आउन चाहने नेपालीहरुलाई सजिलो हुनेछ।
पछिल्लो समय संक्रमण केही बढेपछि सरकारले केही कडाइ गरेको थियो। तर पनि विदेशमा रहेका लाखौ नेपालीहरु स्वदेश फर्किन चाहेका थिए। यसका लागि उडान संख्या कम भयो भन्ने कुरा आएपछि हामीले सल्लाह गरेर उडान संख्या थप गर्ने र यसबाट दिनमा २५ सयदेखि ३ हजार नेपाली दैनिक फर्किन पाउने अनुमान रहेको उनले बताएका छन्।
यसअघि सरकारले दैनिक आठसयलाईमात्र ल्याउन दिने निर्णय गरेको थियो।
त्यस्तै कम्पनीहरुले निशुल्क ल्याइदिन चाहनेलाई पनि उडान अनुमति दिइने भट्टराईले जानकारी दिएका छन्। यसअघि इतिहात एयरवेजले दुबइबाट ११२० जना नेपालीलाई निशुल्क ल्याइदिने भन्दै उडान अनुमति माग गरेको थियो। तर सरकारले उसलाई उडान अनुमति अझैसम्म पनि दिएको छैन।