विराटनगरको कोशी अस्पतालले भर्ना नलिएपछि गर्भवताीको घरैमा मृत्यु
Friday, September 11th, 2020, 2:26 pm
amit
विराटनगर, २६ भदौ । विराटनगरको कोशी अस्पतालले भर्ना नलिँदा एक गर्भवतीको मृत्यु भएको छ। अस्पतालले प्रसूतिका लागि ल्याइएको सुत्केरीलाई भर्ना लिन नमान्दा उनको घरमै मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलमा परिवारसँग बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो।
प्रसूति व्यथाले च्यापेपछि श्रीमान शिवु ऋषिदेवले उनलाई बिहान १ बजेतिर कोशी अस्पताल र्पुयाएका थिए। तर अस्पतालले बेड खाली नभएको भन्दै भर्ना नलिएपछि उनलाई घर फर्काइएको थियो।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले अन्यत्र अस्पतालमा लान पैसा नभएको भन्दै श्रीमान शिवु उनलाई घर फर्काएका थिए भने अस्पतालबाट फर्काएर घरमा लगिएकी महिलाको बच्चा जन्माउन नपाउँदै ज्यान गएको एक स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार दुई सन्तानकी आमा विमला बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको हो।
पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको थिए। सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए।