सरकारको पारदर्शी र व्यवस्थित व्यापार प्रणालीलाई संस्थागत गर्ने दूरदर्शी कदम
Wednesday, April 22nd, 2026, 1:29 pm
Kalpristha
मख्खन धामी
नेपालगन्ज, वैशाख ९ गते
नेपाल सरकारले मित्रराष्ट्रबाट रु.१०० भन्दा बढी मूल्यका सामान खरिद गर्दा अनिवार्य भन्सार प्रक्रिया लागू गर्ने निर्णय गरेकोमा हामी हार्दिक स्वागत तथा उच्च सम्मान व्यक्त गर्दछौँ । यो निर्णय सीमापारको व्यापारलाई निरुत्साहित गर्ने नभई वैध, पारदर्शी र व्यवस्थित व्यापार प्रणालीलाई संस्थागत गर्ने दूरदर्शी कदम हो । यसले स्वदेशी बजार संरक्षण, राजस्व अभिवृद्धि, अनुशासित व्यापार संस्कृतिको विकास तथा राष्ट्रिय अर्थतन्त्रको आधार सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ । नेपालगञ्ज उद्योग वाणिज्य संघ सधैं विधि, नीति, कानुन र स्थापित प्रक्रियाको पक्षमा दृढतापूर्वक उभिँदै आएको जिम्मेवार संस्था हो । राज्यद्वारा लागू गरिएका सकारात्मक नीतिहरूको सफल कार्यान्वयनमा निजी क्षेत्रको सहकार्य, जिम्मेवारी बोध र सक्रिय सहभागिता अपरिहार्य रहने हाम्रो स्पष्ट धारणा रहेको छ । राष्ट्र निर्माण केवल सरकारी दायित्व मात्र होइन, यो नागरिक, व्यवसायी र राज्यबीचको साझा उत्तरदायित्व हो ।
सीमा सुरक्षा, भन्सार अनुशासन तथा राजस्व संरक्षणको लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर ३० गणले हाल देखाएको सक्रियता अत्यन्त प्रशंसनीय छ । विशेषतः सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द ज्यूको नेतृत्वमा भन्सार नाकामा देखिएको कडाइ, पारदर्शिता, निष्पक्षता र कार्यकुशलता राष्ट्रसेवाको उत्कृष्ट उदाहरण बनेको छ । कानुनको अक्षरशः पालना गराउने उहाँको दृढता, प्रशासनिक दक्षता र राष्ट्रप्रतिको निष्ठाले सम्पूर्ण जिम्मेवार निकायलाई प्रेरणा दिएको छ । यस्ता कर्तव्यनिष्ठ राष्ट्रसेवकहरूप्रति हार्दिक सम्मान, उच्च प्रशंसा तथा धन्यवाद व्यक्त गर्दछौँ ।
सीमावर्ती जिल्लाहरू, विशेषतः नेपालगञ्ज क्षेत्रका सम्पूर्ण व्यवसायी महानुभावहरूलाई उपभोक्तामैत्री सेवा, गुणस्तरीय सामग्री तथा सर्वसुलभ मूल्यमा वस्तु उपलब्ध गराई स्थानीय बजारलाई अझ विश्वासिलो, प्रतिस्पर्धी र सुदृढ बनाउन हार्दिक अनुरोध गर्दछौँ । जब स्थानीय बजारमा उचित मूल्य, गुणस्तर र विश्वास कायम हुन्छ, तब उपभोक्ताको आकर्षण स्वदेशी बजारतर्फ स्वतः बढ्छÙ व्यापार फस्टाउँछ, रोजगारी विस्तार हुन्छ र पूँजी देशभित्रै परिचालित हुन्छ ।
आज राष्ट्रहित, आर्थिक स्वाधीनता र आत्मनिर्भर भविष्यको प्रश्नमा प्रत्येक नागरिक, व्यवसायी तथा सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ । राष्ट्रप्रेम केवल नारामा सीमित विषय होइनÙ यो व्यवहार, अनुशासन, कर तिर्ने संस्कार, कानुन पालनाको चेतना तथा स्वदेशी उत्पादनप्रतिको सम्मानमार्फत प्रकट हुने उच्च नागरिक भावना हो ।
जब हामी स्वदेशी उत्पादनको प्रयोग, बिक्री वितरण र प्रवद्र्धनलाई प्राथमिकता दिन्छौँ, तब राष्ट्रिय उद्योगधन्दा बलियो बन्छ, युवा शक्तिका लागि रोजगारी सिर्जना हुन्छ, उद्यमशीलता फस्टाउँछ र अर्थतन्त्रको मेरुदण्ड सुदृढ बन्छ । आफ्नै उत्पादनलाई सम्मान गर्नु भनेको आफ्नै श्रम, सीप, स्वाभिमान र भावी पुस्ताको समृद्धिलाई सम्मान गर्नु हो ।
साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अवैध रूपमा मूल्यवृद्धि गर्ने, तस्करीजस्ता राष्ट्रघाती गतिविधिमा संलग्न हुने, जनतालाई शोषण गर्ने सुदखोरीमा संलग्न जोसुकैमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । कानुन सबैका लागि समान हो, र कानुनी राज्य व्यवस्थामा कुनै व्यक्ति, समूह वा प्रभाव विशेषाधिकारको दायराभन्दा माथि हुन सक्दैन । वैध व्यापारको संरक्षण र अवैध गतिविधिको नियन्त्रण बिना समुन्नत अर्थतन्त्रको परिकल्पना सम्भव हुँदैन ।
वर्तमान महँगीबाट प्रभावित आम नागरिकलाई राहत दिन सरकारले कर तथा राजस्व संरचनाको समयानुकूल पुनरावलोकन गरी व्यावहारिक सहुलियतका उपाय अवलम्बन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । नीति कठोर मात्र होइन, न्यायपूर्ण, सन्तुलित र जनमुखी पनि हुनुपर्छ ।
आजको आवश्यकता आरोप होइन सहकार्य, विरोध होइन विवेक, स्वार्थ होइन राष्ट्रहित, र विभाजन होइन साझा प्रतिबद्धता हो । नागरिक, व्यवसायी र सरकार एउटै लक्ष्यमा एकताबद्ध भए मात्र आत्मनिर्भर, समुन्नत र समृद्ध नेपाल निर्माणको सपना यथार्थमा परिणत हुनेछ । राष्ट्रप्रेमको साँचो स्वरूप यही हो—आफ्नो देशको उत्पादनलाई माया गर्ने, आफ्नै बजारलाई बलियो बनाउने, कानुनको सम्मान गर्ने र समृद्ध नेपालको अभियानमा आ–आफ्नो स्थानबाट इमानदार योगदान दिने । यही भावनासहित सबै पक्षबीच सहकार्य, समन्वय र समृद्धिको वातावरण निर्माण होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ । (लेखक धामी, नेपालगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष हुन)