बहराइनका राजकुमार १५ जना रोयल गार्डसहित हिमाल चड्न नेपाल आए
Wednesday, September 16th, 2020, 6:04 pm
amit
काठमाण्डौ, ३१ भदौ । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आइपुगेको छ।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल आएको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ।
यसैगरी उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा गत भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो।
पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै पछिल्लो १५ दिनदेखि क्वारेन्टिनमा रहेका थिए भने कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि नेपाल प्रस्तान गरेका थिए।
उनीहरुलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए । भेटमा सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरका छ।