सिरहामा प्याज कालोबजारी गर्ने तीनजना पक्राउ, ७ हजार किलो प्याज बरामद
Thursday, September 17th, 2020, 12:15 pm
amit
जनकपुरधाम, १ असोज । सिरहामा कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाका प्रहरी कार्यालयका अनुसार बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजी प्याजसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको हो।
सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गोदाममा प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्री वितरणको लागि राखेको प्याजसहित पसल तथा गोदामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा गोलबजारस्थित जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया स्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान स्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायक रहेका छन्।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।