पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिन समर्थकलाई कुलमानको आग्रह
Saturday, September 19th, 2020, 11:54 am
amit
काठमाण्डौ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति जारी गर्दै आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन्।
कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन्। स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ।
पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि विभिन्न स्थानमा कुलमान समर्थकहरुले प्रदर्शन गर्दै आएकोमा घिसिङले शनिबार एक विज्ञप्तिमार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास लिएका छन्।
आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् । आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन सबैलाई घिसिङले अनुरोध गरेका छन्।