अमेरिकामा आइतबारदेखि टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध, नोभेम्बरदेखि पूर्ण प्रतिवन्ध
Saturday, September 19th, 2020, 12:54 pm
amit
एजेन्सी, ३ असोज । अमेरिकी प्रशासनले आगामी आइतबारदेखि विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाउने भएको छ।
राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ।
त्यस्तै निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइने वाणिज्य मन्त्री विल्बर रोसले बताएका छन्।
मन्त्री रोसले जारी गरेको एक लिखित वक्तव्य अनुसार राष्ट्रपतिको निर्देशनअनुसार अमेरिकी प्रशासनले यहाँका नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालिएको छ भने यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै अमेरिकी राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ।
यसअघि गत अगष्टमा राष्ट्रपति ट्रम्पले घोषणा गरेको सरकारी आदेश अनुसार अमेरिकी नागरिकका व्यक्तिगत डाटा संग्रहित गर्ने चिनियाँ खतरनाक कार्यसँग जुध्न सहयोग गर्ने बताइएको छ।
सरकारी आदेशले टिकटकको अमेरिकास्थित व्यवसाय खरीद गर्ने ओरेकल कम्पनीको हालैको सम्झौताप्रति समेत प्रश्न उठाएको छ । यद्यपि ओरेकल र टिकटकबीच भएको भनिएको खरीद–बिक्री सम्झौताको विस्तृत विवरण सार्वजनिक भैसकेको छैन।
गत सोमबार ओरेकलले टिकटक खरीदको दौडमा आफूले जित हात पारेको खुलासा गरेको थियो । यद्यपि टिकटक खरीद गरेको हो वा स्वामित्व ग्रहण गरेको भन्नेबारे खुलाइएको छैन।
१ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको छ।