पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो
Saturday, September 19th, 2020, 4:13 pm
amit
काठमाण्डौ, ३ असोज । काठमाण्डौको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा शनिबार पानी भरेको हो।
निर्देशनालयका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा पानी भरिएको हो।
वि.सं. २०७२ सालको भूकम्पले क्षति र्पुयाएको रानीपोखरी अहिले पुनर्निर्माण सम्पन्न हुने चरणमा रहेको छ । पानी भरिएपछि रानीपोखरी सुन्दर र मनमोहक देखिएको छ।
खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले दुई दिन लगाएर तीन करोड लिटर पानी भरिएको निर्देशनालयले जनाएको छ।
रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराइमा पानी भरिएको छ।
रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो। जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको निर्देशनालयले बताएको छ।
पानीपोखरीबाट रानीपोखरीसम्म पानी र्पुयाउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाइन उपयोग गरिएको थियो भने मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको हो । रानीपोखरी सबैको गौरब भएकाले रानीपोखरीमा पानी भर्न सधैं सहयोग गर्ने निर्देशनालयले बताएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ। प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन्।