आर्थिक वर्ष २०७६/०७७ मा मात्रै सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात
Sunday, September 20th, 2020, 11:52 am
amit
सर्लाही, ४ असोज । सर्लाहीको लालबन्दीबाट आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा मात्रै लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट रु ३ अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो।
कृषि बजार व्यावस्थापन समिति लालबन्दीका अनुसार लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको छ।
सर्लाहीबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो तरकारी बाहिरिएको छ भने गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ।
कार्यालयलका अनुसार पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा,भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको छ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करिब एक हजार बिघा जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ।