प्रशासनले अनशनरत डाक्टर केसीलाई अस्पताल लग्यो
Sunday, September 20th, 2020, 12:19 pm
amit
सुर्खेत, ४ असोज । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई प्रशासनले अस्पताल लगेको छ।
चिकित्सकहरुको निगरानीमा राख्नुपर्ने सुझावपछि केसीलाई शनिबार राति प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार उपचारमा संलग्न डाक्टरहरुको सिफारिसमा प्रशासनले उनलाइ शनिवार राती १० बजे अस्पताल ल्याइएको भएतापनि यहाँ निगरानी र औषधि प्रयोग गर्न उनले दिएका छैनन्।
केसीको स्वास्थ्य सम्बन्धी निगरानी गर्न ४ जना स्वास्थ्यकर्मीको छुट्टै टिम बनाइएको डा. रावलले बताएका छन् । उक्त टिममा डाक्टर अनुप मंगल सुमाल, डाक्टर प्रबिनकुमार गिरी, डाक्टर धिरज गुरुङ र नर्स सविना थापा उनको उपचारका लागि खटिएका छन्।
स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै केसी जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसन बसेका थिए।
डाक्टर राववलका अनुसार केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ भने शरीरमा क्रमिक रुपमा कमजोरी आइरहेको छ र हिजोसम्म चक्कर लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चाल घटबढ हुनेजस्ता समस्या देखिएको थियो।