बाँके जिल्ला स्तरीय मेयर कप फुटबल बुधबार देखि हुँदैं
Sunday, June 7th, 2026, 9:42 pm
Kalpristha
नेपालगन्ज, जेठ २४ गते
बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ आगामी बुधबार देखि नेपालगन्जमा हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा छात्र तर्फ ३७ टिमको सहभागिता रहेको छ भने महिला तर्फ ११ टिमको सहभागिता रहेको छ ।
जेठ २४ गते हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले केहि समय ढिला गरी सुरु गर्ने तयारी गरेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । प्रतियोगितामा बाँकेका ८ वटा स्थानीय तहका निजी तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा छात्र तर्फ साविक विजेता ब्राइटल्याण्ड स्कुल नेपालगन्ज र तक्षशिला एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समुह ‘ए’ मा ब्राइटल्याण्ड, तक्षशिला एकेडेमी, नोबेल एकेडेमी, मंगल मावि, बाल विद्या मन्दिर, होलिल्याण्ड मावि, आर्दश मावि नेपालगन्ज, सगरमाथा बोडिङ्ग स्कुल, हिमालयन विद्या निकेतन, जीवनज्योती मावि, सिद्धार्थ विद्या सदन, ज्ञानज्योती कोहलपुर, मोर्डन पब्लिक स्कुल, सनविम मावि, सिटिजन नमुना बोडिङ्ग स्कुल, होराइजन एकेडेमी, साईनिङ्ग स्टार मावि, जिभिएन र अरुणोदय मावि खजुरा रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा गत वर्षको उपविजेता ग्रीनपीस मावि, कृष्ण मावि, मनकामना मावि, योगिनी मावि, ज्ञानोदय मावि, सेन्टथोमस, पशुपति मावि, जय बागेश्वरी मावि, ड्रिमल्याण्ड मावि, सम्झना एलिट, युनाइटेड एजुकेशनल, राम मावि, नेपालगन्ज मोडेल एकेडेमी, जनज्योती मावि कोहलपुर, आदर्श मावि राझा, नेपालगन्ज सेन्ट जेभियर्स, निम्बल एकेडेमी र मिसन पब्लिक रहेका छन् ।
यसैगरी प्रतियोगिताको छात्रा तर्फ भने अझै खेल तालिका सार्वजनिक गरिएको छैन । प्रतियोगितामा महिला टिमलाई प्राथमिकता दिदैं प्रतियोगिताको दौरान खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । हाल सम्म छात्रा तर्फ ११ टिमले दर्ता गराएका छन् ।
प्रतियोगितामा सनविम मावि, मनकामना मावि, युनाइटेड एजुकेशनल, साइनिङ्ग स्टार, ज्ञानोदय मावि, नेपालगन्ज सेन्ट जेभियर्स, नेपालगन्ज मोडेल एकेडेमी, योगिनी मावि, धम्बोझी मावि, आदर्श मावि नेपालगन्ज, मंगलप्रसाद माविले नाम दर्ता गराएको छन् ।
बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशक देखि आयोजना गर्दै आएको प्रतियोगिता हो । सबै भन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपुर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । ब्राइटल्याण्डले सडनडेथमा कोहलपुरको ग्रीनपिस माविलाई हराउँदै च्याम्पियन बनेको थियो भने महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगन्जलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।