नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नर्वेतर्फ प्रस्थान
Wednesday, June 17th, 2026, 7:03 am
Kalpristha
नेपालगन्जः धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलवार नर्वेको ट्रम्सोतर्फ प्रस्थान गरेका छन् । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को २५औं वल्र्ड कंग्रेसमा भाग लिन नर्वे प्रस्थान गरेका हुन् । वल्र्ड कंग्रेसमा बिहिवार नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक ठकुरीलाई ‘एम्स सोसल अवार्ड‘ प्रदान गरिनेछ ।
एम्सले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ । संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो । यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड)ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बीचमा केही बर्ष रोकिएको यो अवार्ड यसबर्षदेखि निरन्तरता दिन लागेको छ । यसैबीच २६औं वल्र्ड कंग्रेस नेपालमा आयोजनाका लागि नेपालगन्ज म्याराथनका तर्फदेखि दाबी प्रस्तुती गरिनेछ । ‘यसलागि सबैसँग सरसल्लाह भइरहेको छ ।’
नर्वे प्रस्थान गर्नुअघि संस्थापक ठकुरीले भने –‘यो कंग्रेस आयोजनाको अवसर नेपालले पाएको खण्डमा नेपालका लागि ऐतिहासिक उपलब्धि हुनेछ ।’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले २३ओैं वर्ल्ड कंग्रेस(ओसाका, जापान), २४ओैं वर्ल्ड कंग्रेस (हनाेइ, भियतनाम)मा यसअघि भाग लिइसकेका छन् । उनी लगातार वर्ल्ड कंग्रेस मा भाग लिइरहेका छन् । नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो ।
बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ ।
रात्रीकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् । त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत बर्षदेखि काठमाडौं२५किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ । त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो । जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए । यसबर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल समेत सुरु गरिँदै छ । यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ ।