परिवर्तनको अर्को नाम जीवन– आफ्नै मनसँगको एउटा अन्तरहिन संवाद
Tuesday, July 28th, 2026, 5:45 pm
Kalpristha
शिवानी विक
बाँके, १२ साउन
जीवनमा सबैभन्दा धेरै सोधिने प्रश्नहरू सायद अरूले गर्दैनन्, आफ्नै मनले गर्छ । दिनभर मानिसहरूको बीचमा हाँसेर, बोलेर, आफ्ना जिम्मेवारी पूरा गरेर रातको शान्तिमा जब आफू एक्लै हुन्छ, त्यही बेला मनले एउटा प्रश्न सोध्ने गर्छ ? यस्तो प्रश्न जसको उत्तर कुनै किताबमा हुँदैन, कुनै शिक्षकसँग हुँदैन, कुनै दर्शनले पनि पूर्ण रूपमा दिननै सक्दैन ।
मेरो मनले पनि केही समयदेखि बारम्बार एउटै प्रश्न सोधिरहेको छ । आखिर म यति धेरै परिवर्तन कसरी भएँ ? यो प्रश्नमा कुनै गुनासो छैन । कुनै पश्चात्ताप पनि छैन, एउटा अचम्म छ । आफ्नै प्रतिबिम्बलाई हेर्दा अपरिचित महसुस हुने एउटा अनौठो अनुभूति छ । किनकि म आज जुन मान्छे बनेको छु, केही समय अघिको म त्यसको ठीक विपरीत थिए । म कहिल्यै सजिलै कसैसँग घुलमिल नहुने मान्छे । अपरिचित अनुहारहरू देख्दा मेरा शब्दहरू मनभित्रै अल्झिन्थे । नयाँ सम्बन्ध सुरु गर्नुभन्दा आफ्नै सानो संसारमा सीमित रहन मलाई सहज लाग्थ्यो । धेरै मानिसहरूको बीचमा उभिँदा आफू झन् एक्लो भएको अनुभूति हुन्थ्यो । त्यसैले मैले भीडभन्दा टाढा बस्न सिकेँ । मानिसहरूभन्दा प्रकृतिलाई साथी बनाएँ ।
मलाई पहाडका टुप्पाहरू मन पर्थे र पर्छ । नदीको किनार, झरीपछि माटोबाट उठ्ने सुगन्ध, साँझ ढल्दै गर्दा आकाशमा फैलिने सुनौलो रङ मन पथ्र्यो । चराहरूको आवाज, हावाको सुस्केरा, पातहरूको कम्पन, यिनले मलाई त्यो शान्ति दिन्थे, जुन मानिसहरूको भीडले मलाई कहिल्यै दिन सकेन । त्यतिबेला मलाई लाग्थ्यो, संसारसँग धेरै कुरा गर्नु आवश्यक नै छैन । आफूलाई बुझ्ने एउटा मन भए पुग्छ । मौनले कहिल्यै मेरो परीक्षा लिएन, प्रकृतिले कहिल्यै मेरो परिचय सोधेन । त्यसैले म एकान्तसँग प्रेम गर्न थालेँ ।
तर जीवन कहिल्यै एउटै ठाउँमा अडिँदैन रहेछ ।
समय चल्दै गयो, यात्राहरू थपिँदै गए । केही नयाँ शहरहरू संग भेट भएको छ । केही नयाँ अनुहारहरू जीवनमा आएका छन् । कसैसँग केही मिनेटको कुराकानी भयो, कसैसँग केही घण्टाको यात्रा । कतिपयसँग फेरि कहिल्यै भेट नहुने गरि छुट्टिए तर ती छोटा भेटहरूले पनि मनमा गहिरो छाप छोडेर जाने रहेछन् । आज मलाई सोच्दा अचम्म लाग्छ, पहिले जसले कसैसँग आँखा जुधाएर बोल्न पनि हिच्किचाउँने उही म आज अपरिचित मानिसहरूसँग सहजै हाँस्न सक्छु । उनीहरूका कथा सुन्न सक्छु । आफ्ना अनुभवहरू बाँड्न सक्छु ।

………..
कहिलेकाहीँ त रिक्सा, बस वा कुनै चियापसलमा भेटिएका मानिसहरूसँग भएका केही मिनेटका संवादले वर्षौँदेखिका परिचितहरूले दिन नसकेको आत्मीयता दिएको अनुभव हुन्छ । त्यसपछि फेरि मनले सोध्छ, “यो परिवर्तन कहाँबाट आयो?’’
सायद परिवर्तन कहिल्यै बाहिरबाट आउँदैन मनभित्र बिस्तारै उम्रिने एउटा बिरुवा जस्तै त होनि । हामीले थाहा नपाउँदै त्यसले जरा हालिसकेको हुन्छ । जीवनले हामीलाई बदल्छ भन्ने कुरा हामी धेरै सुनिरहेका हुन्छौँ । तर जीवनले कसरी बदल्छ भन्ने कुरा अनुभवले मात्र सिकाउँछ ।
कहिलेकाहीँ एउटा बिछोडले बदल्छ, असफलताले, यात्राले, अपरिचित मानिसको एउटा साधारण वाक्यले त कहिलेकाहीँ कुनै कारण नै हुँदैन । समय आफैँ कारण बन्छ । समय बित्दैन, उसले हाम्रो सोच, हाम्रो विश्वास, हाम्रो डर, हाम्रो सम्बन्ध र हाम्रो परिचयलाई पनि पुनःनिर्माण गरिरहेको हुन्छ ।
“यो परिवर्तन कहाँबाट आयो?’’
सायद यसको एउटा उत्तर मेरो पेशाभित्र पनि लुकेको छ । म पत्रकार हुँ । पत्रकारिता मेरो लागि समाचार लेख्ने पेशा मात्र कहिल्यै बनेन। मानिसहरूको जीवन पढ्ने विद्यालय पनि बन्यो । हिजोसम्म म आफ्ना भावनाहरूभित्र सीमित थिएँ, तर आज मेरो दिन अरूका कथाबाट सुरु हुन्छ र धेरै पटक उनीहरूकै कथामा टुंगिन्छ ।
कहिले कुनै आमाको आँसु सुन्छु, जसले आफ्नो सन्तानका लागि वर्षौँ संघर्ष गरिरहेकी हुन्छिन् । कहिले कुनै वृद्धको एक्लोपन, जसको प्रतीक्षा गर्ने मान्छे अब कोही छैन । कहिले कुनै किसानको पसिना, कहिले कुनै विद्यार्थीको सपना, कहिले कुनै श्रमिकको पीडा ।
सायद यही कारणले आज म मानिसहरूलाई अनुहारबाट होइन, उनीहरूका कथाबाट चिन्न थालेको छु । पहिले अपरिचित मानिसहरू भीडको हिस्सा लाग्थे भने अहिले हरेक अनुहारभित्र एउटा नलेखिएको कथा देख्न थालेको छु । प्रश्न सोध्दै जाँदा मैले समाचार मात्र भेटिनँ, जीवन भेटेँ । माइक्रोफोन समात्ने क्रममा मैले आवाज रेकर्ड गरिनँ, मान्छेका अनुभूतिहरू पनि मनभित्र सङ्कलन गरिरहेँ । त्यसैले आज कसैसँग सहज भएर कुरा गर्न सक्नु, कसैको कथा धैर्यपूर्वक सुन्न सक्नु, कसैको पीडामा केहीबेर मौन बस्न सक्नु, यी सबै मेरो परिवर्तनका साक्षीहरू हुन् । सायद म बदलिएको होइन । सायद मानिसहरूका कथाले मलाई बदलिदिए । तर यसको अर्थ मैले एकान्तलाई छोडेको भने होइन । आज पनि मलाई बिहानको शान्ति उत्तिकै प्रिय छ । भीडबाट केही समय टाढा बसेर आफ्नै मनसँग कुरा गर्न मन लाग्छ । प्रकृतिको काखमा बसेर मौनतालाई सुन्न सक्नु संसारको सबैभन्दा ठूलो विलासिता जस्तो लाग्छ ।
फरक यति मात्र हो, पहिले म मानिसहरूबाट भाग्थेँ तर अहिले म मानिसहरूलाई बुझ्न खोज्छु । पहिले सम्बन्धहरूबाट डराउँथेँ, अहिले सम्बन्धहरूलाई स्वीकार्न सिकेको छु । पहिले मलाई लाग्थ्यो, बलियो हुनु भनेको कसैलाई आवश्यकता नपर्नु हो । अहिले बुझ्दै छु, बलियो हुनु भनेको आफ्ना भावना स्वीकार्न सक्नु रहेछ । हामी जीवनभर आफूलाई जोगाइरहन्छौँ । कसैले चोट नदियोस् भनेर मन वरिपरि अग्ला पर्खाल बनाउँछौँ तर समयले एउटा दिन ती पर्खालहरू भत्काइदिन्छ । अनि थाहा हुन्छ । कहिलेकाहीँ खुला ढोका भएका घरहरूमा नै सबैभन्दा धेरै उज्यालो पस्ने रहेछ । सायद त्यसैले आज म परिवर्तनलाई डरको रूपमा होइन, यात्राको रूपमा हेर्न थालेको छु । किनकि परिवर्तनले मेरो मौनता खोसेको छैन, उसले त्यसमा संवाद थपिदिएको छ । मेरो एकान्त समाप्त गरेको होइन, त्यसलाई अर्थपूर्ण बनाइदिएको हो ।
मलाई अर्को मान्छे बनाएन बरू उसले मलाई अझ पूर्ण बनायो । अहिले पनि रातको कुनै शान्त क्षणमा ऐनाअघि उभिएर आफ्नै आँखामा हेर्दा कहिलेकाहीँ पुरानो मसँग भेट हुन्छ । म अझै त्यहीँ छु, अलिकति मौन, अलिकति संवेदनशील, अलिकति एक्लै हिँड्न रुचाउने । तर उसको छेउमा अर्को म पनि उभिएको छु अनुभवले परिपक्व भएको, सम्बन्धहरूलाई स्वीकार्न सिकेको, अपरिचित अनुहारहरूमा पनि आफ्नोपन खोज्न थालेको । सायद जीवनको सुन्दरता यहीँ रहेछ । हामी परिवर्तन हुन्छौँ, तर हराउँदैनौँ । हामी नयाँ बन्छौँ, तर पुरानो आफूलाई पूर्ण रूपमा छोड्दैनौँ । हाम्रो प्रत्येक रूपले अर्को रूपलाई जन्म दिइरहेको हुन्छ । र अन्त्यमा, फेरि आफ्नै मनलाई सोध्छु, के म परिवर्तन भएँ, कि जीवनले मलाई मैले अझै नचिनेको ’म’सँग परिचित गरायो? उत्तर आज पनि पाएको छैन, सायद कुनै दिन पनि पाउने छैन । तर यति भने थाहा छ, समयले मानिसको अनुहारभन्दा पहिले उसको सोच बदल्छ । अनुभवले उसको आवाजभन्दा पहिले उसको हृदय बदल्छ । अनि जीवनले बिस्तारै त्यस्तो मान्छे बनाइदिन्छ, जसलाई एक दिन ऐनामा हेर्दा आफैँलाई पनि नयाँ लाग्न थाल्छ । त्यही प्रश्नहरूको यात्रामा नै हामी विस्तारै आफूलाई भेटिरहेका हुन्छौँ ।