नेपालगन्जमा भोलीदेखि मेयर कप तथा बि–लेभल खुल्ला ब्याडमिन्टन हुदै
Friday, September 11th, 2026, 10:57 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ भदौं
नेपालगन्ज रंगशाला कभर्ड हलमा शनिबारबाट हुन लागेको जिल्ला स्तरीय अन्तर विद्यालय मेयर कप तथा बि–लेभल खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
जुनियर स्तरको खेलाडीलाई अवसर दिने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिताले बाँकेको ब्याडमिन्टनको स्तरलाई बढाउन महत्वपुर्ण सहयोग गर्ने १०औं दक्षिण एसियाली खेलकुदको कास्य पदक विजेता खेलाडी एवम् नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भयो ।
प्रतियोगिताको व्यवस्थापनलाई चुस्त बनाउन लाखे सहित क्लबका पदाधिकारी तथा सदस्यहरु अहिले सक्रिय भएर लागिरहनु भएको छ ।
नेपालगन्ज ब्याडमिन्टन क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता नेपालगन्ज रंगशालामा आगामी भदौं २७ र २८ गते संचालन हुनेछ ।
बाँके जिल्लाबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा यु–१३ सिंगल्स छात्र–छात्रा, यु–१५ सिंगल्स छात्र–छात्रा र बि लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्स समावेश गरिएको आयोजक नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष एवम् अन्तराष्ट्रिय पदक विजेता खेलाडी अनिल लाखेले बताउनु भयो ।
प्रतियोगिताको विद्यालय स्तरमा आर्कषक पुरस्कार तथा बि लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्सको विजेता टिमले ३० हजार, उपविजेताले १५ हजार, तेस्रो र चौथो हुने टिमले समान ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष लाखेले बताउनु भयो ।
प्रतियोगिताको यु–१३ सिंगल्स छात्र–छात्रा र यु–१५ सिंगल्स छात्र–छात्रातर्फको इभेन्ट्समा १ सय ५० भन्दा बढी खेलाडी सहभागि हुन आयोजकले अनुमान गरेको छ ।
बि लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्समा करिब ८० जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । बि लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्समा बुटवल, भैरहवा, नवलपरासी, सुर्खेत, दैलेख, धनगढी, टिकापुर, पथ्तरकोट, तौलिहवा, नवलपुर, दाङ्ग, गुल्मी लगायतको स्थानबाट खेलाडीहरुले सहभागिता जनाउने अध्यक्ष लाखेले बताउनु भयो ।
प्रतियोगितालाई भब्य बनाउन तयारी करिब सम्पन्न भैसकेको नेपालगन्ज ब्याडमिन्टन क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक बिपिन श्रेष्ठले बताउनु भयो । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण प्रमुख एवम् ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले प्रतियोगिताले नयाँ खेलाडीलाई उत्कृष्ट अवसर प्रदान गर्ने भएकोले बाँकेको लागि प्रतियोगिता महत्वपुर्ण भएको बताउनु भयो ।
करिब ७ लाख ९९ हजार बजेट रहेको प्रतियोगिता आयोजनाको लागि नेपालगन्ज उपमहानगरपालिकाले मुख्य प्रायोजन गर्नेछ भने राप्तीसोनारी गाउँपालिकाले प्रायोजन र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले बताएको छ ।