प्रेस युनियन बाँकेको पहिलो निर्णयः १० लाखको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने
Tuesday, August 25th, 2026, 9:06 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ भदौं
नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पहिलो निर्णयको रुपमा १० लाख रुपैयाँ बराबरको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय अन्तर्गत पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताउनुभयो ।
‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’
स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, युनियनका अग्रज नेतालगायतलाई आभार व्यक्त गरेको छ ।