युनियन सदस्यको क्षमता विकासमा अग्रजको जोड
Sunday, August 30th, 2026, 6:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ भदौं
नेपाल प्रेस युनियन बाँकेले युनियनलाई चलायमान बनाउन आवश्यक छलफल तथा परामर्शको कार्यलाई अगाडी बढाएको छ । युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले संगठनलाई निरन्तररुपमा चलायमान बनाउन युनियनको पूर्व अध्यक्ष तथा अग्रजहरुसंग आवश्यक छलफल तथा सुझाव संकलन गरेको छ ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको अग्रजहरुसंगको छलफल तथा प्ररामर्श कार्यक्रममा युनियनलाई सांगठनिक रुपमा बलियो बनाएर जानुपर्ने बताए । वक्ताहरुले प्रेस युनियन बाँकेले देशभरमै राम्रो काम गरिरहेको प्रशंसासंगै थप सशक्त भएर अघि बढ्नुपर्ने र त्यसका लागि कार्ययोजना बनाएर जानुपर्ने सुझाव दिए ।
युनियनमा आवद्ध पत्रकार व्यवसायिक पत्रकारितामा अग्रसर हुन जरुरी रहेको र त्यसका साथै उनीहरुलाई आवश्यक क्षमता विकास, व्यवसायिक तालिम, सामाजिक संजालको प्रयोग जस्ता विषयमा प्रशिक्षण चलाउनुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष जय सिंह केसी, महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ प्रदेश सदस्य निर्मल आचार्य, युनियन बाँकेका पूर्व अध्यक्षहरु प्रियास्मृति ढकाल, अर्जुन ओली, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापामगर, अग्रजहरु निरज गौतम, बिजय कुमार बर्मा, मोहम्मद आरिफ अन्सारी, रुपन ज्ञवालीलगायतले बोल्नुभएको थियो ।