बाँकेमा भोली कांग्रेसको गाउँ–नगर अधिवेशन हुँदैं
Tuesday, September 22nd, 2026, 8:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
नेपाली कांग्रेसको १५औं महाधिवेशनको तालिका अनुसार देशभर पालिका र नगरको नेतृत्व चयनको लागि बुधबार निर्वाचन हुँदैछ । बाँकेमा आठै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयनको लागि अधिवेशन हुँदैछ । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ ।
बाँकेको ८१ वटै वडामा वडा अधिवेशन सम्पन्न भएपश्चात बुधबार नगर तथा पालिका अधिवेशन हुन लागेको हो । वडा स्तरमा अधिकांश वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति चयन भएको प्रमुबख निर्वाचन अधिकृत बिर बहादुर रोकायले बताउनु भयो । असोज ३ गते देखि देशभरबाट सुरु नेपाली कांग्रेसको १५औ महाधिवेशनको सुरुआत चरणमा बाँकेमा उत्साह जनक रुपमा वडा अधिवेशन सम्पन्न भएको थियो ।
यसैगरी गाउँ र नगरको अधिवेशनको नेतृत्व विभिन्न व्यक्तिले आफनो उम्मेदवारी घोषणा गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको लागि बिनोद रिजाल र धनराज बर्माले उम्मेदवारी घोषणा गर्नु भएको छ । कोहलपुर नगरपालिकाको नेतृत्वको लागि चिन्तामणी धिताल र विरेन्द्र शाहले आफनो पदाधिकारीको प्यानलनै घोषणा गर्नु भएको छ । जसमा चिन्तामणी धितालको नेतृत्वमा रहेको समुहबाट उपसभापतिमा सविता चौधरी र भरत शर्मा, सचिवमा दिपेन्द्र कठायत र सहसचिजमा ओम जंग शाही रहनु भएको छ ।
त्यस्तै वीरेन्द्र कुमार शाहको नेतृत्वमा रहेको समुहबाट उपसभापतिमा सुभद्रा शर्मा र दिपेन्द्र कुमार चौधरी, सचिवमा रविन कुमार शर्मा र सह सचिवमा राम बहादुर वली रहनु भएको छ । खजुरा गाउँपालिकाको अध्यक्षको रुपमा भने महेन्द्र मल्ल, बैजनाथ गाउँपालिकाको लागि निर्मला रोकाय, भुमिसरा राना र जानकी गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा अजय बर्माको नाम चर्चामा रहेको छ ।